नेप्से साढे ८ अंकले घट्यो

वर्षको अन्तिम कारोबार दिन आइतबार होटल तथा पर्यटन, लगानी, म्युचअल फन्ड र निर्जीवन बिमा उपसमूहका परिसूचक बढे, बाँकीका घटे

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 8 and a half points

काठमाडौँ — २०८१ सालको अन्तिम कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.६२ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३२ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय ६२.०८ बिन्दुमा ओर्लेर बन्द भएको हो ।

उक्त दिन ८८ कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ कम्पनीको घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल ५४ हजार ३६१ पटकको किनबेचबाट १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भयो । बिहीबारको तुलनामा सेयर कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ कारोबार हुँदा आइतबार ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका मध्ये होटल तथा पर्यटन, लगानी, म्युचअल फन्ड र निर्जीवन बिमा उपसमूहका परिसूचक बढे । बाँकी सबै उपसमूह घटे । उक्त दिन होटल तथा पर्यटन ९.३०, लगानी १.८४, म्युचअल फन्ड शून्य दशमलव शून्य ५ र निर्जीवन बिमा १०.४३ अंकले बढे । 

सबैभन्दा बढी जीवन बिमाका लगानीकर्ताको सेयर मूल्य घट्यो । जीवन बिमा ८१.६३, व्यापार ६५.४१, उत्पादन तथा प्रशोधन ५९.७५, विकास बैंक ४२.३९, फाइनान्स २२.४८, लघुवित्त १२.९४ अंकले घटेको छ ।

गुडविल फाइनान्स डिबेन्चर २०८३ (१२ प्रतिशत) र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढेर बन्द भयो । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८, त्रिशूली जलविद्युत् कम्पनीको ६.३०, एनआबीएल स्टेबल फन्डको ५.२२, गुराँस लघुवित्तको ४.८५ प्रतिशतले सेयर मूल्य बढे । राधी विद्युत् कम्पनीको ४.७६, आत्मनिर्भर लघुवित्तको ४.६४, रावा इनर्जी डेभलपमेन्टको ४.६३ र नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ (९ प्रतिशत) को मूल्य ४.२८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले घटेर बन्द भयो । बलेफी हाइड्रोपावरको मूल्य ९.९८, सिन्धु विकास बैंकको ९.०८, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.७१ र न्यादी हाइड्रोपावरको मूल्य ४.६५ प्रतिशतले घटेको हो । सिकलेस हाइड्रोपावरको ३.८०, इङ्वा हाइड्रोपावरको ३.५१, दिव्यश्वरी हाइड्रोपावरको ३.३५, सिटिजन्स सुपर ३० म्युचअल फन्डको ३.२१ र सामुदायिक लघुवित्तको ३.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, राधी विद्युत् कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नारायणी विकास बैंक अघि रहे । सबैभन्दा बढी सीईडीबी होल्डिङ्सको ४५ करोड ३२ लाख ९ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४४ करोड ४६ लाख ५९ हजार, राधी विद्युत् कम्पनीको ४३ करोड ८२ लाख ९९ हजार, हिमालयन रिइन्स्योरेन्सको ३९ करोड ३४ लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नारायणी विकास बैंकको २० करोड ६२ लाख ९ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully