प्रहरीको पहरामा थालियो नागढुंगा सुरुङको काम

पूरा गरिसकेको मागलाई लिएर काममा अवरोध गरेपछि वार्तामा आउन चिठी पठाएर पटक–पटक आग्रह गर्दा पनि स्थानीय नआएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको दाबी

वैशाख १, २०८२

विमल खतिवडा

Nagadhunga tunnel work started under police guard

काठमाडौँ — निर्माण ठप्प भएको २८ दिनपछि प्रहरी सुरक्षामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पुनः अघि बढाइएको छ । निर्माणको काम अन्तिम चरणमा रहेकै बेला आयोजनाले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयले काममा अवरोध गरेपछि आयोजनाको काम ठप्प थियो । चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखाका स्थानीयले चैत ३ देखि काठमाडौं र धादिङ दुवैतर्फ काम रोकेका थिए ।

पूरा गरिसकेको मागलाई लिएर काममा अवरोध गरेपछि वार्तामा आउन चिठी पठाएर पटक–पटक आग्रह गर्दा पनि स्थानीय नआएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको दाबी छ । स्थानीयका माग सम्बन्धित निकायमा पठाइसकिएको जानकारी गराउँदा पनि अवरोध कायमै रहेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा आइतबारबाट प्रहरीको सहयोगमा काम पुनः अघि बढाइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

‘वार्ताबाट समस्या समाधानका लागि धेरै प्रयास गर्‍यौं । तर स्थानीय वार्तामा आउनै चाहेनन्,’ उनले भने, ‘हाम्रोतर्फबाट गर्ने र हुन सक्ने सबै प्रयास गर्‍यौं, कुनै उपाय नलागेपछि प्रहरीको सुरक्षामा निर्माण थालेका हौं ।’ 

नेपाल र सशस्त्र प्रहरीको सुरक्षामा रोकिएको काम पुनः सुरु गरिएको हो । आइतबार दुवै जिल्लामा सुरुङभित्र र बाहिर काम भएको पन्थीको दाबी छ । बलम्बुस्थित किसिपिडी क्षेत्रमा निर्माणाधीन फ्लाइओभरमा पनि प्रहरी राखेर काम गराइएको छ । ‘आयोजनाको काम छिटो सक्न पाए नागढुंगा उकालोमा हुने ट्राफिक जामको समस्या हट्ने थियो,’ उनले भने । निर्माणमा अवरोध गर्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएर शुक्रबार साँझ छाडिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए । 

‘काममा अवरोध गर्नेलाई थानकोट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको थियो,’ उनले भने, ‘साँझ सबैलाई छाडिसकिएको छ ।’ सरकारी निकायले समयमै पहल नगर्दा लामो समयसम्म सुरुङ निर्माणको काम ठप्प बनेको हो ।

पहिलो सवारी गुड्ने सुरुङमार्ग भनेर प्रचार गरिए पनि तत्काल आइपरेका समस्या समाधान गरी छिटो निर्माणको काम सक्न भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट खासै पहल हुने गरेको छैन । जसले गर्दा निर्माणको समय पछि धकेलिँदै गएको छ । 

पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने अडानमा स्थानीय छन् । निर्माण व्यवसायीले काम रोकिएको अवधिको क्षतिपूर्ति दाबी गरे दैनिक करिब ५० लाखका दरले सरकारले तिर्नुपर्ने जोखिम कायमै छ । छिटछिटो आयोजना प्रमुख फेरिरहँदा पनि तत्काल आयोजनामा देखिने समस्या समाधान गर्न कठिन हुने गरेको छ । अहिले आयोजना प्रमुखविहीन छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनामा तत्कालीन आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाको सरुवा भएपछि नागढुंगा–सुरुङमार्ग निर्माण आयोजना प्रमुखविहीन बनेको हो ।

२०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । तर बीचैमा स्थानीयले काममा अवरोध गरिदिएपछि समस्या थपिएको हो । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । टुटीपाखाका स्थानीयले परियोजनामार्फत भइरहेका र चालु रहेका कार्यक्रम परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने नभए सडक विभागमार्फत सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । आयोजना सम्पन्न भएपछि पनि निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने कुरा पहिलो मागका रूपमा स्थानीयले अघि सारेका छन् ।

सुरुङमार्गका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गरेका हुन् । हाल नागढुंगा सडक खण्ड भएर दिनहुँ १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । तर २०७६ कात्तिक ४ मा सुरु भएको सुरुङमार्गको ६५ महिना बित्दा भौतिक प्रगति ८७ प्रतिशत मात्र छ । सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण आयोजना सम्पन्न गर्न समस्या भएको इन्जिनियर पन्थीले बताए । 

मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully