नेप्से ३२.६९ अंकले घट्यो, २१ अर्बको सेयर किनबेच

साताका चार कारोबार दिनमध्ये तीन दिन नेप्से घट्दा एक दिन बढ्यो, नेप्से घट्दा पनि उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र सामूहिक लगानी कोषको परिसूचक बढे

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

NEPSE fell by 32.69 points, 21 billion shares were bought and sold

काठमाडौँ — गत साता सेयर कारोबार मापक नेप्से परिसूचक ३२.६९ अंकले घटेको छ । अघिल्लो बिहीबार २ हजार ७ सय ३.३९ विन्दुमा बन्द भएको नेप्से गत बिहीबार २ हजार ६ सय ७०.७० विन्दुमा ओर्लिएको छ । आइतबार सार्वजनिक बिदा भएकाले गत साता चार दिन मात्रै कारोबार भएको थियो, जसमा तीन दिन नेप्से घट्यो भने एक दिन बढ्यो ।

यसअनुसार गत सोमबार ३३.३३, मंगलबार ३.४४ र बिहीबार ५.५७ अंकले नेप्से घट्दा बुधबार ९.६६ अंकले बढ्यो । साप्ताहिक रूपमा भने नेप्से करिब साढे ३२ अंकले घटेको छ । 

पछिल्ला सातामा केही दिन नेप्से बढे पनि प्रायः दिन नेप्से ओरालो लागिरहेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था अझै पनि कायमै छ । ब्याजदर अझै घट्दो छ । राष्ट्र बैंकको तथ्यांकले पछिल्ला महिनामा सेयर कर्जा बढिरहेको देखाएको छ । तर पनि सेयर बजारमा लगानीकर्ताको उत्साह छैन ।

केही महिनायताको राजनीतिक अस्थिरता बढ्दै गएको, सरकारको गतिविधिबाट लगानीकर्ता सन्तुष्टि हुन नसकेको, अर्थतन्त्र चलायमान बन्न नसकेको लगायत कारण निजी क्षेत्रको आत्मविश्वास बढ्न सकेको छैन । यसको प्रत्यक्ष असर सेयर बजारमा परेको जानकार बताउँछन् । 

उक्त साता २ लाख ३ हजार ९३० पटकको सेयर किनबेचबाट २१ अर्ब ९ करोड ११ लाख ४३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम ५ अर्ब ५६ करोड ३९ लाख ५२ हजार रुपैयाँले कम हो । अघिल्लो साता २६ अर्ब ६५ करोड ५० लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएकामा गत साता २१ अर्ब ९ करोड ११ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो । 

अघिल्लो साता ५ करोड २१ लाख ८९ हजार १९२ कित्ता सेयर किनबेच भएको थियो । गत साता कारोबार सेयर संख्या पनि घटेर ४ करोड २१ लाख १६ हजार ८८२ कित्तामा सीमित भएको छ । गत साता सोमबार सबैभन्दा बढी ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत सोमबार १ करोड १४ हजार ८६६ कित्ता सेयर किनबेच भयो । 

गत मंगलबार १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता किनबेचबाट ५ अर्ब ३० करोढ ९५ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार भने १ करोड ७३ हजार ८२२ किता सेयर ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै गत बिहीबार १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजारको कारोबार भएको छ । 

गत साता लगानीकर्ताको आकर्षण उत्पादन तथा प्रशोधन उपसमूह अन्तर्गतका कम्पनीमा देखिएको छ । उक्त अवधिमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४२.५९ अंकले बढ्नुले यो पुष्टि हुन्छ ।

अघिल्लो बिहीबार ७ हजार ३२.२९ अंकमा बन्द भएको नेप्से गत बिहीबार ७०७४.८८ विन्दुमा उक्लेर बन्द भएको थियो । गत साता होटल तथा पर्यटन १०.३६ अंक र सामूहिक लगानी कोषको परिसूचक शून्य दशमलव शून्य ८ अंकले बढेको छ । उल्लिखित तीन उपसमूहबाहेक अन्य सबै उपसमूहहरूको परिसूचक घटेका छन् । 

गत साता जीवन बिमा, व्यापार, निर्जीवन बिमा लगायतका लगानीकर्ताहरूको सम्पत्तिको मूल्य घटेको छ । सबैभन्दा बढी जीवन बिमा १४८.९९, व्यापार १४०.८३ र निर्जीवन बिमा ७८.७९ अंकले घटेको छ । गत साता हाइड्रोपावर ५९.१४, विकास बैंक ५२.१, फाइनान्स ४७.४६, अन्य ३८.४१, लघुवित्त २५.३६, बैंकिङ १९.४ र लगानी शून्य दशमलव ८७ अंकले घट्यो । उत्पादन तथा प्रशोधनको ८१ करोड ५५ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

कान्तिपुर

Link copied successfully