काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका भुवनसिंह गुरुङ विजयी भएका छन् ।
संघको ३१औं साधारणसभाका अवसरमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका उम्मेदवार नरेश गेलाललाई ६१ मतले पछि पार्दै गुरुङ विजयी भएका हुन् ।
विजयी गुरुङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत ल्याए । निर्वाचित गुरुङ म्यानेजमेन्टका सञ्चालक हुन् । यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे डिङ्दोङ र कोषाध्यक्षमा धनु सिँजाली विजयी भएका छन् ।
सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान तामाङ, सवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्या लक्ष्मी बज्राचार्य विजयी भएको संघले जनाएको छ ।
