हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सीप विकास हो : श्रममन्त्री
काठमाडौँ — हस्तकला क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच रोजगारोन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखती र महासंघका अध्यक्ष रवीन्द्र शाक्यबीच समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारीमा श्रम बजारको मागबमोजिम प्रतिष्ठान र महासंघको प्रत्यक्ष संलग्नतामा रोजगारउन्मुख सीप विकास तालिम, उद्यमशीलता विकास तालिम र प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने, तालिमपछि स्वरोजगार बन्न मद्दत गर्ने, रोजगारीमा आबद्धता गराइने वा महासंघ आबद्ध रोजगारदाताकहाँ रोजगारी प्राप्त गर्न समन्वय र सहजीकरण गरिने उल्लेख छ ।
आफूहरू बेरोजगार युवा दक्ष जनशक्ति उत्पादन गर्ने नीति तथा योजना कार्यान्वयन गर्न केन्द्रित रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जनाए । ‘आन्तरिक रोजगार दशकलाई अगाडि बढाउन सीप विकासलाई निकै प्राथमिकता दिएका छौं । हामी सीपयुक्त नेपाली कार्यक्रम पनि घोषणा गर्ने तयारीमा छौं,’ उनले भने, ‘बजारमा आवश्यक संख्यामा दक्ष वा सीपयुक्त जनशक्ति उत्पादन गर्नेछौं ।
हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सीप विकास नै हो । दक्ष जनशक्ति उत्पादन नै हो । सीपबिना उद्यमशीलता बढाउन सकिँदैन ।’
परम्परागत सीपलाई उद्यमशीलतासँग जोड्न समझदारी गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक बखतीले बताए । ‘नेपालको लोभलाग्दो परम्परागत हस्तकला छ । त्यो सीपको लोप नहोस् र उद्यमशीलतासँग जोड्न जरुरी छ,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई उत्थान गरी आन्तरिक रोजगार सिर्जना गर्न यो सम्झौता महत्त्वपूर्ण हुनेछ ।’
हस्तकला व्यवसायलाई निरन्तरता दिई स्थापित गर्न यो समझदारीले सहयोग पुग्ने महासंघका अध्यक्ष शाक्यको भनाइ छ । ‘हामीसँग हस्तकलासम्बन्धी व्यापारको अपार सम्भावना छ ।
तर हामीलाई चाहिने सीपयुक्त जनशक्तिको अभाव छ,’ उनले भने, ‘घरमै बसेर पनि यो काम गर्न सकिन्छ । यसले अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन गर्न सघाउँछ ।’
