दक्ष जनशक्ति उत्पादनमा केन्द्रित छौं : श्रममन्त्री भण्डारी

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

We are focused on producing skilled manpower: Labor Minister Bhandari

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बेरोजगार युवा दक्ष जनशक्ति उत्पादन गर्ने नीति तथा योजनालाई कार्यान्वयन गर्न केन्द्रित गरेको बताएका छन् ।

‘हामी सीपयुक्त नेपाली कार्यक्रम पनि घोषणा गर्ने तयारीमा छौं,’ श्रम मन्त्रालयमा आयोजित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासंघबीच रोजगारउन्मुख सीप विकास तालिम सञ्चालनसम्बन्धी समझदारी हस्ताक्षर कार्यक्रममा उनले भने,‘बजारमा आवश्यक भएको सख्यामा दक्ष वा सीपयुक्त जनशक्ति उत्पादन गर्नेछौं । उनीहरूलाई उत्पादनशील क्षेत्र र उत्पादनमा जोडेर मुलुकको उत्पादकत्व बढाउने योजना छ ।’

श्रम बजारको मागबमोजिम रोजगारउन्मुख सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । उनले आन्तरिक रोजगार दशकलाई अगाडि बढाउन सीप विकासलाई निकै प्राथमिकता दिइएको छ । ‘हाम्रो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता सीप विकास नै हो । दक्ष जनशक्ति उत्पादन नै हो,’ उनले भने,‘सीपबिना उद्यमशीलता बढाउन सकिँदैन ।’

उनले श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादनमा प्राविधिक तालिम दिइने बताए । ‘बजारमा कस्ता र कुन प्रकारका सीपयुक्त जनशक्ति चाहिएको छ ? यसका लागि सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ,’ उनले भने,‘यो प्रतिष्ठानले रोजगारदातासँग जोड्नेछ । यसका लागि तालिम प्रदायक र रोजगारदाताका संस्थाहरूसँग सम्झौता गरिरहेका छौं ।’

श्रममन्त्री भण्डारीले परम्परागत सीप समेत लोप हुँदै गइरहेको बताए । ‘उपयुक्त बजार र दक्ष जनशक्तिको अभावमा परम्परागत सीप  लोप हुँदै गइरहेको छ । यसको संरक्षण गर्नु सरकारको दायित्व हो,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully