वार्षिक ५ लाखलाई रोजगार दिन सक्ने क्षमता निजी क्षेत्रमा छैन : ढकाल 

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

The private sector does not have the capacity to employ 5 lakhs annually: Dhakal

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिन सक्ने क्षमता निजी क्षेत्रमा नरहेको बताएका छन् । 

महासंघकाे ५९ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ मा ढकालले युवाहरु जुन  अर्थतन्त्रले रोजगारी दिन सक्छ, त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेको बताए । 'अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ, निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ,' उनले भने, 'तर हरेक वर्ष श्रम  बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता छैन ।' 

नेपालीलाई काम दिने मुलुक र नेपालको अवस्था केही समयपहिले उस्तै रहेकाे समेत उनले बताए । 'सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो,' उनले भने, 'अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर छ । यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन ।' 

नेपालको प्रगति भए पनि जति हुनुपर्ने थियो त्यति हुन नसकेको उनको भनाइ छ । 'ठूला अर्थतन्त्रमा हामीले काम पाउने त भयौ तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौ,' उनले भने ।

कान्तिपुर

Link copied successfully