देश–देशमा खाद्यान्न र बीउ भण्डारणलाई संयुक्त बैंक

कृषि तथा पशुपन्छी क्षेत्र विकासमा भारतसँग बिमस्टेक मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर

चैत्र २८, २०८१

राजु चौधरी

Joint bank for food and seed storage in countries

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल पहल (बिमस्टेक) राष्ट्रहरूको कृषिमन्त्रीस्तरीय बैठकले देश–देशमा खाद्यान्न र बीउ भण्डारणलाई संयुक्त बैंक स्थापना गर्ने सहमति गरेको छ । आपत्कालीन अवस्थामा बिमस्टेक राष्ट्रले उपभोग गर्न पाउने गरी यस्तो निर्णय गरिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको तेस्रो बैठकले क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धन गर्न यस्तो सहमति गरेको हो । 

‘बैठकमा बिमस्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डार र क्षेत्रीय बीउ भण्डारण स्थापना गर्ने विषयमा सहमति भएको छ,’ कृषिमन्त्री अधिकारीले कान्तिपुरसित भने, ‘प्रत्येक मुलुकमा खाद्य संकलन गरेर राख्ने र आपत्कालीन अवस्थामा उपभोग गर्ने हो ।’ कृषि क्षेत्रमा सदस्य राष्ट्रको क्षमता विकासका लागि विशेष पहल गर्ने पनि सहमति गरिएको छ । 

बैठकमा कृषिमन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिमस्टेक सदस्य राष्ट्रको सहकार्यमा जोड दिए । जलवायु परिवर्तन र विषादीको बढ्दो प्रयोगले चुनौती थपिएकाले सबै राष्ट्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । 

‘बिमस्टेक राष्ट्रको साझा मञ्च (बैठक) को आयोजक तथा अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा गौरवान्वित छु । संयुक्त वक्तव्यमार्फत जारी गरिएका प्रतिबद्धता सदस्य राष्ट्रहरूमा कृषि प्रणालीको उत्पादनशीलता, उत्थानशीलता र स्थायित्व वृद्धि गर्ने व्यावहारिक पहलमा परिणत हुनेछ,’ मन्त्री अधिकारीले भने, ‘अनुसन्धान, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन र मूल्यशृंखला विकासमा सामूहिक प्रयास जरुरी छ । यसले जनता र मुलुकको खाद्य सम्प्रभुता, आर्थिक समृद्धि हासिल गर्न योगदान पुग्छ ।’

बिमस्टेक राष्ट्रमा कृषि, पशुपन्छी तथा मत्स्यपालनको धेरै सम्भावना रहेको भारतका कृषि तथा किसान कल्याण र ग्रामीण विकासमन्त्री विराजसिंह चौहानले बताए । यसका लागि सबै सदस्य राष्ट्रबीच सहकार्य गर्नुपर्ने उनको भनाइ छ । बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने, कृषिसम्बद्ध मुख्य चुनौतीको समाधान गर्ने विषयमा पनि छलफल भएको छ । 

कृषि क्षेत्रका विकासका कार्ययोजनाअनुसार सम्भाव्य क्रियाकलापका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय बैठकअघि मंगलबार कृषि तथा पशुपन्छी विकास सचिव गोविन्दप्रसाद शर्माको अध्यक्षतामा बिमस्टेक राष्ट्रका कृषि क्षेत्रका उच्च अधिकारीबीच छलफल भएको थियो । कृषि क्षेत्रका उच्च अधिकारीहरूले तयार पारेको एजेन्डालाई बुधबारको मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको हो । बैठकमा बिमस्टेक पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजनासमेत अनुमोदन गरिएको मन्त्रालयकी प्रवक्ता मतिना जोशी वैद्यले बताइन् । 

‘कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधार स्थापनाका लागि सदस्य राष्ट्र भारतबाट अवधारणा प्रस्तुत भयो । बैठकले पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्य गर्न नयाँ कार्ययोजना अनुमोदन गरेको छ,’ उनले भनिन् । बैठकले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, ग्रामीण विकासको प्रवर्द्धन, गरिबी न्यूनीकरण र दिगो विकास गर्न कृषिको महत्त्वपूर्ण भूमिकालाई पुष्टि गरेको जनाएको छ । 

भारतसँग मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर

नेपालको कृषि तथा पशुपन्छी विकास क्षेत्रमा विकास गर्न कृषिमन्त्री रामनाथ अधिकारीले भारत र भुटानका कृषिमन्त्रीसँगै छुटाछुट्टै भेटवार्ता गरेका छन् । भारतका कृषिमन्त्री शिवराज चौहानबीच द्विपक्षीय भेटवार्तामा नेपाल र भारतबीच कृषि क्षेत्रका अनुसन्धान, प्रविधि विकास, बाली उत्पादन, कृषि बजार तथा व्यापारबीच छलफल र समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

बाली संरक्षण, सिँचाइ प्रांगारिक खेतीलगायत विषयमा सहकार्य गर्न भारतका कृषि तथा किसान कल्याण र ग्रामीण विकासमन्त्री विराजसिंह चौहान र नेपालका कृषिमन्त्री अधिकारीले मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर गरे । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषि वस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए । भेटवार्तामा भारतीय कृषिमन्त्री चौहानले दुई देशको आयात–निर्यातमा देखिएका समस्या समाधान गर्न थप गृहकार्य गरी सहजीकरण गर्ने प्रतिबद्धता गरे ।

कृषिमन्त्री अधिकारीले भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग पनि द्विपक्षीय भेटवार्ता गरेको मन्त्रालयले जनाएको छ । भुटानका कृषिमन्त्रीसँगको भेटवार्तामा प्रांगारिक खेती अनुसन्धान, प्रविधि विकास, जलवायुमैत्री कृषि विकास कृषि र पशुपन्छी आनुवंशिक स्रोतको आदानप्रदान, कृषि व्यापारलगायत छलफल भयो । 

भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै याक विकासमा सहकार्य गर्न सकिने कृषिमन्त्री अधिकारीको भनाइ छ । नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासमा सहकार्य गर्न चाहेको भुटानका मन्त्री फुन्थ्सोले बताए ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully