परराष्ट्रमन्त्री राणा भन्छिन् : वैदेशिक सहायता घट्दै गयो, अझै घट्ने सम्भावना छ 

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana says: Foreign aid is decreasing, it is likely to decrease further

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदान संकुचित हुँदै गएको बताएकी छिन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको  बताएकी हुन् । 

'अधिकतम विकास, विकासशील राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्नेछ । द्रुत आर्थिक वृद्धि एवं विकासको आकांक्षा हामीलाई पूरा गर्नुछ । अब वैदेशिक ऋण अनुदान पहिला भन्दा कम आउनेछ,' परराष्ट्रमन्त्री राणाले भनिन् । 

 उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको उनको भनाइ छ । ‘सबै नेपाली आर्थिक विकास र प्रगतिको आकाक्षी छौं । ती आकांक्षा निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ,' उनले भनिन् । 

पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिबद्ध  रहेको समेत परराष्ट्रमन्त्री राणाको भनाइ छ । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उनले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने बताइन् । 

कान्तिपुर

Link copied successfully