काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रूपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् ।
'आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाईकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरुको पनि सहयोग चाहिन्छ,' प्रधानमन्त्री ओलीले भने, 'देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरू मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको छ आगामी निर्वाचनसम्म । त्यसपछि पनि यो सिलसिला कायम रहन्छ । त्यसकारण तपाईंहरु ढुक्क भएर लगानी गर्नुस् । देश विकासमा योगदान गर्नुस् ।'
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्नुपर्ने बताए । स्थानीय उत्पादनको प्रवर्द्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले सुनाए ।
‘अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न सकियो भने स्थानीय उत्पादनहरूको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं एकद्वार प्रणालीमार्फत गुणस्तर मापन गर्न सकिन्छ,’ उनले भने ।
