मंगलबार सबैभन्दा धेरै कमाउने प्रमुख पाँच कम्पनी बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, मैलुङखोला जलविद्युत् र गुराँस लघुवित्त
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३.४४ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ६६.६१ अंकमा ओर्लेको छ । गत साताको बुधबार र बिहीबार बढेर बन्द भएको नेप्से सोमबार ३३.३३ अंकले घटेको थियो । मंगलबार पनि नेप्सेले सोमबारकै बाटो पछ्याउँदै ओरालो लागेको छ । तर, मंगलबारको घट्ने दर सोमबारभन्दा कम छ ।
उक्त दिन १२१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २३ कम्पनीको घट्यो । मंगलबार पनि सेयर बजारमा निकै उतारचढाव देखियो । सुरुदेखि नै घट्न थालेको नेप्से करिब १ बजेर ५२ मिनेट जाँदा उक्त दिनकै न्यून २ हजार ६ सय ३२ अंकमा ओर्लेको थियो । त्यसयता बढ्न थालेको बजार २ हजार ६ सय ६६ मा बन्द भएको हो । तर, यो अंक अघिल्लो दिनको तुलनामा करिब साढे ३ अंकले कम हो ।
पछिल्ला महिनामा वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएको छ । निक्षेपसँगै ऋणको ब्याजदर पनि घटेर एकल अंकमा झरिसकेको छ भने अझै घट्दो दरमै छ । लगानीका अन्य क्षेत्र घरजग्गा, उद्योग, व्यापार आदि क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन । यस्तो अवस्थामा सेयर बजार बढ्नुपर्ने धारणा धेरैको भए पनि बजारले त्यसको संकेतसम्म पनि देखाएको छैन । बरु प्रायः कारोबार दिनमा घटेरै बन्द भएको छ । केही सातायता सडकमा देखिएको राजनीतिक अस्थिरता, आन्दोलन, राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइलगायत कारण लगानीकर्ताको आत्म विश्वास बढ्न सकेको छैन । उनीहरूको आत्मविश्वास बढ्न नसक्दा सेयर बजार बढ्न नसकेको जानकार बताउँछन् ।
५३ हजार ४ सय ९२ पटकको कारोबारमा १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटे । मंगलबार सबैभन्दा धेरै कमाउने प्रमुख पाँच कम्पनीको सूचीमा क्रमशः बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, मैलुङखोला जलविद्युत् र गुराँस लघुवित्त वित्तीय संस्था रहे । उक्त दिन सबैभन्दा धेरै गुमाउने कम्पनीको प्रमुख पाँच कम्पनीमा बाराही हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नत सहकार्य लघुवित्त, सयपत्री हाइड्रोपावर र माया खोला आइड्रोपावर कम्पनी छन् ।
यस्तै, कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेपलप्मेन्ट सबैभन्दा अघि छ । उक्त दिन यो कम्पनीको ५९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । धेरै कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र रिडी विद्युत् कम्पनी छन् ।
