चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : अध्यक्ष सिंह

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Despite the challenges, significant achievements in Nepal's infrastructure sector: President Singh

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न चुनौतीका बाबजुद पनि नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाइ, उड्डयनलगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धस हासिल गरिरहेको बताएका छन् ।

सिंगापुरमा एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७औं सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष सिंहले भौतिक पूर्वाधारको नेपालको वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । पूर्व इफाप्का अध्यक्षसमेत रहेका सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको बताए ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको सिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै महासंघ अध्यक्ष सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।

विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेकोतर्फ अध्यक्ष सिंहले विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराए । विगत केही महिना अघि देखि निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकूल असर देखिएको सिंहले बताए ।

‘सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दाताहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको छ,’ अध्यक्ष सिंहले भने, ‘निर्माण उद्योगमा प्रविधिका लागि लगानी बढाउनु पर्छ ।’ निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबीचको सहकार्य जरुरी भएको अध्यक्ष सिंहले बताए ।

निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औं इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । ४६औं इफाप्का सम्मेलन भने सन् २०२३ को नोभेम्बरमा नेपालले आयोजना गरेको थियो । नेपालसहित १९ मुलुकका निर्माण संस्था आबद्ध इफाप्काको मुख्यालय फिलपिन्सको मनिलामा रहेको छ ।

कान्तिपुर

Link copied successfully