अन्तरदेशीय क्यूआर कारोबारबाट एक वर्षमा साढे १ अर्ब रुपैयाँ आम्दानी

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Income of 1.5 billion rupees in one year from international QR business

काठमाडौँ — विदेशी व्यक्तिले नेपालमा क्यूआर कोडमार्फत ५ लाख २४ हजारभन्दा बढी कारोबार गरेबापत कुल १ अर्ब ५८ करोड ७ लाख रुपैयाँ आम्दानी भएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘२०७७ देखि २०८१ सालसम्म सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू’ विषयक प्रतिवेदनअनुसार भारतको यूपीआई तथा चीनका अलिपे प्लस, युनियन पे र विच्याटमार्फत नेपालमा भएको कारोबारमा यस्तो रकम जम्मा भएको हो ।

२०८० फागुनबाट सुरु गरिएको ‘यूपीआई अक्वायरिङ सेवा’ (विदेशीले नेपालमा क्यूआर प्रयोग गरी तिर्ने रकम)बाट मात्रै ५ लाख १९ हजार ३१ कारोबार भएको थियो । यसबाट करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबर रकम प्राप्त भएको प्रतिवदेनमा उल्लेख छ।

यो नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीसँग आबद्ध भई गरिएको कारोबार हो । 

त्यसैगरी, २०८१ साउनदेखि अलिपे प्लस, युनियन पे र विच्याट प्रणालीमार्फत ५ हजार १ सय २९ वटा कारोबार भएकोमा यसबाट १० करोड १ लाखभन्दा धेरै विदेशी भुक्तानी स्वीकार भएका छन् । राष्ट्र बैंकले अक्वायरिङ (विदेशीले नेपालमा तिर्ने)सँगै अन्तरदेशीय इसुइङ (नेपालीले विदेशमा तिर्ने) कारोबारका लागि पनि सेवा प्रदायकहरूलाई स्वीकृति प्रदान गरेको छ । 

अन्तरदेशीय एक्वायरिङ कारोबार निरन्तर वृद्धि हुँदै आएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० फागुनमा ६ हजार ८ कारोबार संख्या हुँदा १ करोड ५ लाख रुपैयाँ संकलन भएको थियो । उक्त कारोबार संख्या र रुकम अर्को महिना अर्थात् २०८० चैतमा दोब्बरले वृद्धि भएको देखिन्छ ।

चैतमा क्यूआर कोड प्रयोग गरी १३ हजार ८ सय ३१ वटा एक्वायरिङ कारोबारबापत नेपाले ३ करोड २ लाख रुपैयाँ प्राप्त गरेको थियो । २०८१ भदौयता कारोबार रकम १० करोड रुपैयाँबाट लगातार बढेर असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ३१ करोड र माघमा २६ करोड रुपैयाँ अन्तरदेशीय क्यूआर कोडमार्फत नेपालमा संकलन भएको थियो ।  

राष्ट्र बैंकले २०८० फागुनबाट फोनपे र यूपीआईलाई क्यूआर कोडमार्फत अन्तरदेशीय कारोबारका लागि सहकार्य गर्न स्विकृति प्रदान गरेको थियो । क्यूआर कोडमार्फत अन्तरदेशीय पर्सन टु मर्चेन्ट (पीटुएम) कारोबारको विस्तारले विशेषत: पर्यटनसँग जोडिएका साना व्यवसायहरूलाई लाभ पुगेको राष्ट्र बैंकले जनाउँदै आएको छ ।

अन्तरदेशीय इसुइङ कारोबारमार्फत नेपालमा कार्यरत भारतीय नागरिकहरूले भारतस्थित आफ्ना खातामा डिजिटल माध्यमबाट रकम पठाउन सक्छन् । ‘नेपालमा कार्यरत भारतीय नागरिकले विद्युतीय बैंकिङ (ई-बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआरमार्फत भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा जम्मा हुने गरी पारिश्रमिक बापतको रकम पठाउन सक्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘राहदानी सुविधा लगायतको रकम परिवर्त्य विदेशी मुद्रा विदेशमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।’ 

कान्तिपुर

Link copied successfully