‘मेरो कार्यकालमा केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो’

वित्तीय पहुँच वृद्धि तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य सुधार भएको दाबी

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

”The Central Bank's autonomy was interfered with during my tenure”

काठमाडौँ — पछिल्लो पाँच वर्षमा नेपालको वित्तीय प्रणालीमा समावेशीता प्रवर्द्धन, ग्राहक संरक्षण तथा वित्तीय पहुँच वृद्धि गर्ने कार्य तथा भुक्तानी प्रणालीको आधुनिकीकरणमा समेत उल्लेखनीय सुधार भएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

आफ्नो पाँचवर्षे कार्यकालको अन्तिम दिन राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले वित्तीय स्थायित्व कायम गर्न बैंकले विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्दै वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउँदै लगेको दाबी गरे । 

आफ्नो कार्यकालमा पनि अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकमा पटक–पटक प्रहार भएको उनको भनाइ छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माको जोडबलमा तत्कालीन सरकारले आफूलाई निलम्बन गरेको तर्फ लक्ष्य गर्दै गभर्नर अधिकारीले अर्थ मन्त्रालयको हस्तक्षेपबीच पनि आफूले राम्रो काम सकेको बताए । ‘कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो,’ उनले भने, ‘राष्ट्र बैंकको स्वायत्ततामाथि गरेका हस्तक्षेपमा बैंकका पूर्वगभर्नरज्यूहरू, अर्थशास्त्रीज्यूहरू, लब्धप्रतिष्ठित व्यक्ति र खासगरी सञ्चारजगत्बाट जुन किसिमको खबरदारी भयो, त्यो अविस्मरणीय रह्यो ।’

सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वव्यापी कोभिड महामारीका कारण अधिकांश आर्थिक गतिविधि प्रभावित भई नेपाललगायत विश्व अर्थतन्त्र उल्लेख्य रूपमा संकुचन हुन पुगेको थियो । उक्त महामारीबाट पुनरुत्थान नहुँदै रुस र युक्रेनबीचको तनावका कारण सिर्जित उच्च मूल्यवृद्धिको सामना गर्नुपर्‍यो । यस्तो चुनौतिका बाबजुद यस बैंकले लिएको सजग र समयानुकूल उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको छ । मुलुकको बाह्य क्षेत्र सुदृढ छ । वित्तीय क्षेत्रको पुँजी पर्याप्तता र तरलता नियामकीय आवश्यकताभन्दा माथि, ब्याजदर व्यवसायमैत्री रहनुका साथै कोभिडपश्चात् चुलिएको मूल्यवृद्धि क्रमशः कम हुँदै हाल बैंकले तय गरेको मौद्रिक नीतिको लक्ष्यभित्र नै रहेको गभर्नर अधिकारीले जनाए । 

मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । तरलता व्यवस्थापनलाई थप व्यवस्थित बनाई ब्याजदर कोरिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा, स्थिरीकरण कोषलगायत व्यवस्था गरिएको अधिकारीको भनाइ छ । 

‘कोभिड–१९ महामारी विश्वको अर्थव्यवस्थाका लागि नै चुनौतीपूर्ण थियो । आधुनिक विश्वले यस्तो किसिमको चुनौतीको सामना गर्नुपरेको थिएन,’ उनले भने, ‘महामारीको प्रभाव कहिलेसम्म कस्तो रहन्छ भन्ने अनुमान गर्ने अवस्था थिएन । यद्यपि उपलब्ध सीमित स्रोतलाई सदुपयोग गरी आर्थिक व्यवस्थालाई लयमा राख्नु ठूलो चुनौतीका रूपमा थियो ।’

यस्तो अवस्थामा बैंकले मौद्रिक नीति तर्जमा गर्दा सजगतापूर्वक तथा तथ्यमा आधारित भएर केही परम्परागत र केही गैरपरम्परागत उपाय अवलम्बन गर्‍यो । यस्ता उपायले अर्थतन्त्रलाई लयमा राख्नुका साथै समकक्षी देशहरूको तुलनामा बलियो अवस्थामा राख्न मद्दत गरेको अधिकारीको दाबी छ । 

यस अवधिमा वित्तीय क्षेत्रमा गाभ्ने/गाभिने तथा प्राप्तिमार्फत थप सुदृढीकरण भएको छ । अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित भएको छ भने वित्तीय क्षेत्रमा रहेको विकृतिजन्य क्रियाकलाप हदैसम्म न्यूनीकरण भएका छन् । कर्जा प्रवाह गर्ने र ऋणी दुवै पक्षमा देखिने गरेका अनुशासनहीनतालाई दृष्टिगत गरी महत्त्वपूर्ण सुधार गरिएका छन् । बैंकिङ क्षेत्रसँग रहेको स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिइएको छ । 

‘बैंकले लिएको प्रोत्साहनमूलक व्यवस्थाका कारण डिजिटल भुक्तानी विस्तारमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको छ । फिनटेक कम्पनीहरूको लगानी, भुक्तानी सेवासँग सम्बन्धित संस्थाहरू, बैंक वित्तीय संस्थाहरूको सक्रियता र सर्वसाधारणको अभिरुचिले विद्युतीय भुक्तानीमा क्रान्ति नै ल्याएको छ,’ उनले भने, ‘यसै अवधिमा वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले वैदेशिक पुँजी लगानीका लागि यस बैंकबाट समेत लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको छ भने वैदेशिक ऋणसम्बन्धमा स्पष्ट, पारदर्शी तथा अनुमानयोग्य व्यवस्था गरिएको छ ।’

सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा सन् २०२२/२३ मा नेपालको तेस्रो सामूहिक मूल्यांकनले नेपालले विगत १० वर्षमा गरेको प्रगतिबारे प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूप पूर्णता दिन थप काम गर्नुपर्ने सुझाव दिएको अधिकारीले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully