सरकारी सञ्चार संस्थाहरूले गीत, म्युजिक भिडियो र सर्ट फिल्म बनाएर गरे सांकेतिक टिप्पणी
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तु तथा सामानमा अतिरिक्त भन्सार कर (ट्यारिफ) घोषणा गरेयता विभिन्न देशले त्यसमा आ–आफ्नै किसिमले प्रतिक्रिया जनाइरहेका छन् । चीनका सरकारी सञ्चार संस्थाहरूले भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत गीत, म्युजिक भिडियो र सर्ट फिल्म बनाएर यसको आलोचना गरेका छन् ।
चाइना ग्लोबल टेभिजन नेटवर्क (सीजीटीएन) र चिनियाँ समाचार संस्था सिन्ह्वाले ट्रम्प प्रशासनको नयाँ कर नीतिको व्यंग्यात्मक शैलीमा कटाक्ष गरेका हुन् । सीजीटीएनले एआईमार्फत अंग्रेजी भाषामा तयार गरेको ‘लुक ह्वाट यु ट्याक्सड अस थ्रु’ बोलको गीतमा ट्रम्पको ट्यारिफले महँगी र आर्थिक मन्दी बढाउने उल्लेख गरेको छ । यो गीत चर्चित अमेरिकी गायिका टेलर स्विफ्टले सन् २०१७ मा सार्वजनिक गरेको ‘लुक ह्वाट यु मेड मि डु’ को भावसँग मिल्दोजुल्दो छ ।
टेलरले उक्त गीतमा बदला र आक्रोशको भाव व्यक्त गरेकी छन् । सीजीटीएनले ट्रम्पको ट्यारिफ नीतिविरुद्ध एआईको सहायतामा बनाएको गीतमा शैलीगत समानता रहे पनि लय र बोल भने टेलरको भन्दा फरक छन् ।
सीजीटीएनको गीतको पहिलो लाइनको भावानुवाद यस्तो छ–
तरकारी किन्दा मिर्गौला बेच्नुपर्ने भयो
पेट्रोल हाल्दा फोक्सो जल्ने भयो
तिम्रो ‘सम्झौता’ ?
भए, हावामा उडेका खोक्रा सपना ।
टाइम म्यागेजिनको समाचारअनुसार यस गीतमा ट्रम्पको नीतिले जनताको ढाड सेकिएको भन्दै अमेरिकी उपभोक्ताको दृष्टिकोणलाई समेत उतार्न खोजिएको छ । टेस्ला प्रदर्शन, अमेरिकी सामाजिक सञ्जालका क्लिप र ट्रम्पका भाषणलाई मिसाएर एआईले नै यस गीतको भिडियो सिर्जना गरेको हो । यसमा इलन मस्कदेखि फेडरल रिजर्भसम्मलाई आलोचना गरिएको छ । महिलाको आवाजमा निर्मित गीतमा ट्रम्पले घोषणा गरेको ‘मुक्ति दिवस’ लाई व्यंग्य गर्दै ‘नयाँ भन्सार करले सुपथ मूल्यका चिनियाँ कारको बजार ध्वस्त पारेको’ उल्लेख छ ।
ट्रम्पले नयाँ कर घोषणालाई ‘मुक्ति दिवस’ का रूपमा व्याख्या गर्दै अमेरिकाको चीनदेखि युरोपेली संघ र अन्य देशहरूबीचको व्यापार घाटा अन्त्य गर्न नयाँ कर नीति ल्याएको बताएका थिए । ‘यो ट्र्याक एआईले बनाएको हो । तर ऋणको संकट चाहिँ शतप्रतिशत मानवनिर्मित हो,’ सीजीटीएनको वेबसाइटमा लेखिएको छ । गीतको अन्त्यमा ‘ट्यारिफका लागि धन्यवाद र तिमीले फैलाएको यो झमेलाका लागि पनि’ भन्दै द येल बजेट ल्याब र द इकोनमिस्टका समाचारको उद्धरण भिडियोमा देखाइएका छन् । ती उद्धरणमा ट्रम्पको नयाँ भन्सार करको आलोचना गरिएको छ । भिडियोमा अंग्रेजी र चिनियाँ भाषामा सबटाइटल राखिएको छ ।
ट्रम्पले गत बुधबार अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क तोकेलगत्तै चीनले पनि शुक्रबार अमेरिकी वस्तुको आयातमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । साथै दुर्लभ खनिजहरूको निर्यातमा कडाइ गर्ने चीनको चेतावनी छ । त्यस्ता खनिजहरू अमेरिकी हाई–टेक कम्पनीका उत्पादनमा आवश्यक हुने गरेका छन् ।
सीजीटीएन मात्र नभएर चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि अप्रिल ३ मा ‘ट्यारिफ’ शीर्षकको साइ–फाई भिडियो सार्वजनिक गरेको थियो । जम्मा तीन मिनेट १८ सेकेन्डेको एआई–जेनेरेटेड उक्त छोटो फिल्ममा ‘टेक्निकल आर्टिफिसियल रोबोट फर इन्टरनेसनल फिस्कल फङ्सन’ अर्थात् छोटकरीमा ‘ट्यारिफ’ नामक एउटा रोबोटले उसको सर्जक डाक्टर मेलोरीको नयाँ आदेश मान्नुभन्दा मृत्यु रोजेको देखाइएको छ ।
सिन्ह्वा न्युजले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्दै लेखेको छ, ‘यो ट्यारिफको कथा, एआईद्वारा सिर्जना गरिएको साइ–फाई थ्रिलर फिल्म । यसले अमेरिकाले कसरी निरन्तर रूपमा ट्यारिफलाई हतियार बनाइरहेको भन्ने देखाउँछ । एक ह्युमनोड रोबोटको मानसिक यात्रालाई पनि देखाइएको छ, कृपया हेर्नुहोस् ।’
अमेरिकी नयाँ भन्सार करप्रति धेरैजसो देशहरूले गम्भीर असन्तुष्टि व्यक्त गरिरहेका छन् । चीनले पनि उखान टुक्का, रोबोट र एआई प्रविधिमार्फत अमेरिकी उपभोक्ताको पीडा र अन्तर्राष्ट्रिय बजारको तनावलाई हाँसी–मजाक र यथार्थबीच प्रस्तुत गरेको देखिन्छ । चिनियाँ सरकारी सञ्चार माध्यमका यी कन्टेन्ट अहिले इन्टरनेटमा फैलिएका छन् ।
अतिरिक्त भन्सार कर घोषणा गरिएयता विश्वभरका पुँजीबजारहरूमा प्रभाव देखिएको छ । बेलायतको एफटीएसई १०० झन्डै ३.५ प्रतिशत, जर्मनीको डीएएक्स ४.२ प्रतिशतसँगै फ्रान्स ३.८ प्रतिशत, इटाली ३.९ प्रतिशत र स्पेनको सेयर सूचकांक ३.६ प्रतिशतले ओर्लिएका छन् । एसियाली प्रमुख बजारमा जापानको निक्केई २२५ झन्डै ५.१ प्रतिशत, चीनको सांघाइ कम्पोजिट इन्डेक्स ६.३ प्रतिशत र दक्षिण कोरियाको कप्सी ४.८ प्रतिशतले ओर्लिएको थियो ।
अमेरिकी सेयर बजारले पनि सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । यो गिरावटले सबैभन्दा धेरै प्रविधि, खुद्रा व्यापार र सवारीसाधन क्षेत्रलाई प्रभावित गरेको देखिएको छ । एप्पल र एनभिडियाजस्ता प्रविधि कम्पनीहरूको सेयर क्रमशः ९ प्रतिशत र ८ प्रतिशतले घटेको छ ।
ट्रम्पको नयाँ भन्सार नीतिप्रति विभिन्न देश सतर्कता अपनाउँदै छलफलको तयारीमा छन् । युरोपेली संघ (ईयू) ले यस विषयमा अमेरिकी पक्षसँग वार्ता गर्न आफू खुला रहेको संकेत दिएको छ । विश्लेषकहरूका अनुसार अमेरिकाको कर नीतिले अन्य देशलाई पनि प्रतिकारात्मक कदम चाल्न प्रेरित गर्न सक्छ । त्यसले विश्वव्यापी व्यापार तनाव बढाउँदै सम्भावित आर्थिक मन्दीको जोखिम निम्त्याउने भय देखिन्छ ।
– एजेन्सीको सहयोगमा
