२६ अर्ब ६५ करोड ५० लाखको कारोबार भएकामा जलविद्युत् क्षेत्रको हिस्सा करिब ३३ प्रतिशत
काठमाडौँ — गत साता सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य करिब साढे ६६ अर्बले बढेको छ । उक्त अवधिमा औसतमा नेप्से ४० अंकले बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ४४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो साताको बिहीबारको तुलनामा यो करिब साढे ६६ अर्बले बढी हो । अघिल्लो साताको बिहीबार कुल बजार पुँजीकरण ४४ खर्ब २२ अर्ब रुपैयाँ थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कुल सेयर मूल्यलाई सोही दिनको बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । सामान्यतया नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि बढ्छ भने घट्दा घट्छ । पुँजीकरण बढ्दा वा घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य परिवर्तन (बढ्ने/घट्ने) हुने हो । यसकारण प्राविधिक रूपमा बजार बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको र घट्दा सम्पत्तिको मूल्य पनि घटेको रूपमा विश्लेषण गरिन्छ ।
गत साता चार दिन मात्र सेयर कारोबार भयो, जसमध्ये तीन दिन (आइतबार, बुधबार र बिहीबार) गरेर करिब ५७ अंकले नेप्से बढ्यो । तर मंगलबार करिब १७ अंकले नेप्से घट्यो । सो साता औसतमा नेप्से करिब ४० अंकले बढेको हो । अघिल्लो साताको बिहीबार २ हजार ६ सय ६३.३० अंकमा बन्द भएको नेप्से गत साता बढेर २ हजार ७ सय ३.३९ अंकमा उक्लेर बन्द भएको छ ।
गत साताको चार कारोबार दिनमा कुल २६ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत आइतबार ७ अर्ब ५६ करोड, मंगलबार ५ अर्ब ७९ करोड, बुधबार ५ अर्ब ४४ करोड र बिहीबार ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
साताभर २ लाख ५५ हजार ८ सय ७५ पटकको कारोबारमा ५ करोड २१ लाख ८९ हजार १ सय ९२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब साढे २६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले बताएको छ । गत साता जलविद्युत् उपसमूहको २ करोड १६ लाख ३९ हजार ९ सय ८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो उक्त अवधिको कुल सेयर कारोबारमा सबैभन्दा धेरै करिब ३३ प्रतिशत हिस्सा हो । यस्तै, कुल साप्ताहिक सेयर कारोबारमा बैंकिङ (वाणिज्य बैंक) उपसमूहको हिस्सा ६.२९, विकास बैंकको ६.९५, अन्यको १५.५९, लगानीको १३.६५, र जीवन बिमा उपसमूहको हिस्सा ७ प्रतिशत छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंकिङ, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमालगायत १३ उपसमूहमा छुट्टाछुट्टै सूचीकृत गरिँदै आएको छ । हाल नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीको संख्या दुई सय ६८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ३० बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका छन् । २०८० माघसम्म सूचीकृत कम्पनीको संख्या दुई सय ७१ थियो ।
सेयर बजारको आकार (कुल बजार पुँजीकरण) का हिसाबले पनि यो बजारमा वित्तीय संस्था ५३.३ प्रतिशत छन् भने जलविद्युत्को हिस्सा १६.७ प्रतिशत छ । सेयर बजारमा सूचीकृत सेयर संख्यालाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । कुल बजार पुँजीकरणमा वित्तीय संस्था र बिमाको हिस्सा लगातार घट्नु र जलविद्युत्को बढ्नुले पनि बजारमा जलविद्युत्को प्रभुत्व बढ्दै गएको पुष्टि हुने जानकार बताउँछन् ।
