प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ
काठमाडौँ — पछिल्ला दिनमा सुनको मूल्यमा अस्थिरता देखिएको छ । बिहीबार मूल्य बढेर कीर्तिमान बनाएको सुनको भाउ शुक्रबार तोलामै ३ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३ हजार १ सय ४८ अमेरिकी डलर थियो ।
शुक्रबार भने प्रतिऔंस ३ हजार ९८.५० डलरमा मूल्य निर्धारण भयो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४९ अमेरिकी डलरले घटेपछि नेपाली बजारमा पनि प्रतितोला ३ हजार ९ सय रुपैयाँ घटेको हो ।
‘बिहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण हुँदा नेपाली बजारमा कीर्तिमान बन्यो । अमेरिकी राष्ट्रपति ट्रम्पको आर्थिक नीतिले अन्तर्राष्ट्रिय बजार आतंकित छ । आर्थिक क्षेत्र पूरै प्रभावित छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘त्यही कारण सुन बिक्रीमा आउँदा मूल्य घट्यो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ निर्धारण भयो ।’ अन्तर्राष्ट्रिय बजारमा सेयर मार्केटमा पनि गिरावट आएको छ । सोही कारण पनि मूल्य घटेको छ । गहना बजार अस्तव्यस्त भएकाले घट्ने वा बढ्ने प्रक्षेपण गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
