बाक्लो तुवाँलोका कारण मन्थली-लुक्ला उडान बिहीबारदेखि नै ठप्प
दोलखा — बाक्लो तुवाँलोका कारण मन्थली–लुक्ला उडान ठप्प बनेको छ । बसन्तयामको हिमाल आरोहण र सगरमाथा क्षेत्र घुम्न आएका २ सय ५० भन्दा बढी पर्यटक मन्थली विमानस्थलमा रोकिएका छन् ।
बिहीबार बिहान मन्थलीबाट लुक्लाका लागि ५ वटा उडान भएका थिए । त्यसपछि खराब मौषमका कारण दुई दिनदेखि उडान हुन नसकेको विमानस्थलका प्रमुख हिरोण शाहले बताए । ‘बिहीबार बिहान मन्थलीबाट लुक्लाका लागि ५ उडान भएपछि खुम्बु क्षेत्रको मौषम खराब बन्यो,’ उनले भने, ‘शुक्रबार पनि खुम्बु क्षेत्रको मौषममा सुधार आउन नसकेकाले उडान हुन सकेको छैन ।’
खराब मौषमका कारण उडान हुन नसकेपछि अधिकांश विदेशी पर्यटक र पथप्रर्दशक मन्थलीमा रोकिएका छन् । मन्थलीबाट ३ वटा निजी कम्पनीका विमानले पर्यटकीय सिजनमा लुक्ला र फाप्लु उडान भर्दै आएका छन् । खुम्बु क्षेत्रको मौसममा सुधार नआएपछि निजी कम्पनीका हेलिकप्टरले पर्यटकलाई लुक्ला र फाप्लु छाडन थालेका छन्।
शुक्रबार हेलिकप्टरले ४५ लाई लुक्ला र ४७ जनालाई फाप्लु पुर्याएको शाहले बताए । ‘भिजिविलीटी कम भएर विमान उड्न नसकेपछि पर्यटकले हेलिकप्टर चार्टर गर्न थालेका छन्,’ उनले भने, ‘अधिकांश पर्यटक विमानस्थल नजिकै रहेका होटलमा मौसम खुल्ने आशामा बसेका छन् ।’
शुक्रबार बिहानसम्म मौषममा सुधार नआएपछि ३ वटा उडान मार्फत ४२ जना पर्यटक फाप्लु उडेको उनले बताए । यस्तै, हेलिकप्टर चार्टरमार्फत शुक्रबार दिउँसोसम्म १ सय भन्दा बढी पर्यटक लुक्ला पुगेको उनले बताए । फाप्लु पुगेका पर्यटक त्यहाँबाट सडक र पदमार्ग हुँदै सगरमाथा क्षेत्र जाने गरेका छन् । बुधबार मन्थली विमानस्थलबाट मौषम सफा रहँदा २ सय १७ पर्यटक खुम्बु क्षेत्र उडेको उनले बताए ।
सरकारले सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई मन्थली विमानस्थलबाट खुम्बु क्षेत्र लाने र ल्याउने गरेको छ । नागरिक उड्यन प्राधिकरणले बसन्त ऋतुको चैतदेखि जेठ र शरद ऋतुको असोज पहिलो सातादेखि मंसिर १५ सम्म मन्थली विमानस्थलबाट लुक्ला उडान व्यवस्थापन गर्दै आएको छ । मन्थलीबाट सिता, तारा र समिट एयरले लुक्ला र फाप्लु उडान भर्दै आएका छन् । मौसम खुलेका समयमा मन्थलीबाट दैनिक ६० वटा उडानसम्म हुने गरेको छ ।
