उपभोक्ता मूल्य दुई लाख नाघ्यो
काठमाडौँ — पहेंला धातुका रूपमा चिनिएको सुनको मूल्यले दिनहुँजसो नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक एवं राजनीतिक उथलपुथलले सुनको मूल्यमा कीर्तिमान बनाएको हो । यसको प्रभाव स्वदेशी बजारमा समेत परेको छ ।
चैतमा मूल्य दिनहुँजसो बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । चैत १ मा प्रतितोला सुनको मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो ।
चैत २० सम्म आइपुग्दा मूल्य बढेर प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । ‘तर बजार अस्थिर छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने । महासंघले बिहीबार (चैत २१) मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार १ सय ४८ अमेरिकी डलर थियो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअनुसार स्वदेशी बजारका लागि महासंघले प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य पनि इतिहासकै उच्च हो ।
चैत १९ र चैत २० को तुलनामा भने सुन तोलामा ६ सय रुपैयाँ घट्यो । चैत १९ मा प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ थियो । चैत २० मा १ लाख ७९ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । त्यसपछि चैत २१ मा फेरि मूल्यले कीर्तिमान बनाएको छ । ‘अन्तर्राष्ट्रिय बजारमा चैत २० मा प्रतिऔंस ३१ सय २६ डलर थियो । चैत २१ मा मूल्य बढेर ३१ सय ४८ डलर पुग्यो,’ शाक्यले भने ।
एकातिर बजार सुस्त छ भने आएका ग्राहक पनि किन्नेभन्दा सुन बेच्ने बढी छन् । महासंघले बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँ तोके पनि उपभोक्ता मूल्य दुई लाख रुपैयाँभन्दा बढी पर्छ । किनभने, गहना व्यवसायीले गहना बिक्री गर्दा ज्याला–जर्ती जोड्छन् । उनीहरूले १२ देखि १८ प्रतिशत जोडेर उपभोक्ता मूल्य तय गर्छन् । यसलाई औसत १२ प्रतिशत मान्दा एक तोला सुनको गहना थप २१ हजार ६ सय ३६ रुपैयाँ महँगो पर्छ । र, एक तोला गहना किन्दा उपभोक्ताले २ लाख १ हजार ९ सय ३६ रुपैयाँ तिर्नुपर्छ ।
गहनाको भाउले दैनिक नयाँ कीर्तिमान कायम गरेपछि सर्वसाधारण खरिदभन्दा बिक्री गर्न आएको उनीहरूको दाबी छ । ‘गहनाको मूल्य अहिलेसम्मकै उच्च छ । अझै कतिसम्म बढेर घट्ने हो, अनुमान गर्न सक्ने अवस्था छैन । मूल्य बढे पनि गहना पसलमा किन्नेभन्दा बेच्ने ग्राहक बढी छन्,’ महासंघका उपाध्यक्ष पवन सोमानीले भने, ‘विगतमा किनेर लगेका सुनका गहना फेरि बजारमा आउन थालेको छ । गहना बजारमा आउने ७५ प्रतिशत उपभोक्ता आफूसँग भएका पुरानो गहना बेच्ने वा पुरानोसँग नयाँ गहना साट्न खोज्ने छन् ।’
महासंघले अन्तर्राष्ट्रिय बजारलाई आधार मानेर मूल्य निर्धारण गर्दै आएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक, राजनीतिक द्वन्द्वले नेपाली बजार प्रभावित बनाएको व्यवसायी बताउँछन् । ‘महासंघमा करिब ७ हजार गहना व्यवसायी आबद्ध छन्, तर नेपालभरकै कुरा गर्दा करिब २० हजार गहना व्यवसायी छन् । सबैको अवस्था उस्तै छ । बिक्रीभन्दा पुरानो गहना किन्नुपर्ने अवस्था छ,’ सोमानीले भने ।
