राजावादीको हुलदंगामा भएको क्षतिमा ५ करोडको बिमा दाबी

हुलदंगामा भएको क्षतिको बिमा दाबी फर्छ्योट गरिहाल्न प्राधिकरणको निर्देशन, परेका दाबीमध्ये बुधबारसम्म ४५ हजार रुपैयाँ मात्र भुक्तानी 

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

5 crores insurance claim for the damage caused by Rajawadi's riot

काठमाडौँ — यही चैत १५ मा राजावादीको हुलदंगामा भएको क्षतिमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबर बिमा दाबी परेको छ । बुधबारसम्म ४३ वटा बिमा दाबीमार्फत उल्लिखित रकम बराबर बिमा दाबी परेको हो । दाबी आउने क्रम जारी रहेकाले दाबी रकम र संख्या अझै बढ्ने प्राधिकरणले जनाएको छ ।

हालसम्म परेको दाबीअनुसार २२ वटा निजी गाडी, १६ वटा घर तथा व्यवसाय (सम्पत्ति), ३ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ४३ वटा दाबी परेको प्राधिकरणले जनाएको छ । यसअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ । १६ वटा आवेदनमा ३ करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी परेको हो ।

मोटर बिमामा १ करोड २९ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ दाबीमा ३७ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ । परेका दाबीमध्ये बुधबारसम्म ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको पनि प्राधिकरणले जनाएको छ । शिखर इन्स्योरेन्सले उक्त दाबी भुक्तानी गरेको हो । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदंगाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट परेको बिमा दाबी छिटो फर्छ्योट गर्न नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा चैत १५ मा भएको हुलदंगाका कारण भएको क्षतिको विवरण ‘एक्सेल स्प्रिड सिट’ ढाँचामा साप्ताहिक रूपमा प्रत्येक साताको बुधबार प्राधिकरणमा पेस गर्न पनि सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

राजावादी प्रदर्शनकारीले गत शुक्रबार तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ । यद्यपि यकिन विवरण आइनसके पनि केन्द्रीय सुरक्षा समिति बैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले करोडौंको क्षति भएको ब्रिफिङ गृहमन्त्री रमेश लेखकसमक्ष गरेको स्रोतले बताएको छ ।

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घर, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, माओवादीको पार्टी कार्यालय, भाटभटेनीलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए । ‘ऋणका लागि धितोमा राखेको बाहेक निजी घर तथा व्यवसाय बिमा गर्ने प्रचलन हामीकहाँ छैन । यसकारण धेरै रकमको क्षति भए पनि बिमा दाबी निकै कम आउने सम्भावना छ,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।

हुलदंगामा भएको क्षतिबापत परेको बिमा दाबीबारे तथ्यांक संकलन सुरु भएकाले अब साप्ताहिक रूपमा सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।

कान्तिपुर

Link copied successfully