'कान्छो सगरमाथा आरोही' बन्ने दौडमा मुकेश

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Mukesh in the race to become the 'youngest Everest climber'

काठमाडौँ — विश्वकै अग्लो हिमचुचुरो सगरमाथामा आरोहण गर्ने कान्छो जापानी आरोही बन्ने दौडमा रहेका मुकेश आकीयामा पाण्डे बुधबार खुम्बु क्षेत्रतर्फ प्रस्थान गरेका छन्। सरकारले आरोहणका लागि १६ वर्षको उमेर हद तोकेको छ। यसअघि जापानकी मारिन मिनामियाले १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी थिइन्।

उनको रेकर्ड तोड्दै नयाँ राख्न मुकेश प्रयासरत छन्। काठमाडौंको जेम्स स्कुलबाट केही दिनअघि एसईई परीक्षामा सहभागी भएका १६ वर्षीय मुकेश यसपालिको वशन्तकालीन हिमाल आरोहण सिजनमा मिनामियाको विश्व रेकर्ड ब्रेक गर्ने दाउमा छन्। मुकेशले यसअघि खुम्बु क्षेत्रको ६ हजार मिटर उचाईको लोबुचे पिक आरोहण गरेका थिए । 

मुकेशको सगरमाथा आरोहणको जिम्मा काठमाडौंको सेभेन समिट ट्रेक्सले लिएको छ । पर्यटन विभागले आइतबारसम्म सगरमाथा आरोहणकालागि दुई वटा आरोहण दललाई अनुमति दिएको छ। जसमा ८ महिला र १९ पुरुषहरु सहभागी छन् । गोरखा मुल घर भएका मुकेशका बुवा मुक्ति पाण्डे २० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न छन् । नेपालको सबैभन्दा पूरानो अल्पाइन संगठन नेपाल पर्वतारोहण संघका उनी कोषाध्यक्ष छन्। मुकेशकी आमा भने जापानी नागरिक हुन्।  

१० हिमालमा आरोहणको अनुमति

हालसम्म पर्यटन विभागले १० वटा हिमाल आरोहणको अनुमति जारी गरेको छ । जसमा ल्होत्से, सगरमाथा, मकालु र अन्नपुर्ण प्रथम ८ हजार अग्ला हिमाल छन्। बाँकी ६ वटा ७ हजार मिटर उचाईका साना हिमाल हुन्। यी सबैमा आइतबारसम्म आरोहण अनुमति लिने १ सय ४८ जना पुगेका छन् ।

विभागका अधिकृत ज्ञानु राईका अनुसार सलामी दस्तुरबाट विभागले ६ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । विभागले मध्य फागुनदेखि वसन्तकालीन हिमाल आरोहणको अनुमति वितरण सुरु गरेको थियो । यो क्रम जेठमध्यसम्म रहन्छ । 

उता खुम्बु क्षेत्रमा खराब मौसम र हावाहुरीका कारण ५ हजार मिटरदेखि ६ हजार मिटर उचाइसम्म फैलिएको खुम्बु आइसफल क्षेत्रमा भर्‍याङ राख्ने, डोरी बाँधेर बाटो बनाउने काम प्रभावित भएको छ । पर्यटन विभागको पर्वतारोहण महाशाखा प्रमुख आरती न्यौपानेका अनुसार मंगलबार उनीहरुले आरोहणका लागि मार्ग बनाउने काम रोक्नु परेको थियो ।

‘सगरमाथा आधार शिविरमा गतिविधि बढ्दै जाँदा आरोहीहरु र सहयोगीहरुले चुनौतीपूर्ण मौसमको सामना गरिरहेका छन्,’ उपसचिव न्यौपानेले भनिन्, ‘आधार शिविरमाथिको आकाश सफा देखिए पनि तीव्र गतिको हावा र सुख्खा अवस्थाका कारण खुम्बु आइसफल क्षेत्र संचालन कठिन भएको छ ।’ 

विभागले त्यस क्षेत्रमा अझै शक्तिशाली हावाहुरी चल्ने सम्भावना रहेकाले आइसफल डक्टरहरुलाई अघि बढ्नु जोमिखपूर्ण हुनसक्ने चेतावनी दिएको छ । नेपालले वसन्तकालीन हिमाल आरोहण सिजनमा ५० हाराहारी हिमालमा आरोहण अनुमति जारी गर्ने गरेको छ।

कान्तिपुर

Link copied successfully