काठमाडौँ — नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवर्द्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको परिसंघले जनाएको छ।
समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र महासंघका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका छन्। 'लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी र नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायत सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो,' परिसंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएकाले यो समझदारीले थाइल्याण्डबाट लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले व्यक्त गरे। उनले भने, 'लगानी प्रवर्द्धनका लागि सरकारले कानुनी सुधार गरेको छ, जसबाट लगानीकर्ताले फाइदा लिन सक्नेछन् ।'
दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहेका नेपाली प्रतिनिधिहरू सहभागी थिए।
