वायरलेस प्रविधिबारे छलफल गर्न काठमाडौंमा ३८ देशका प्रतिनिधि

डिजिटल कन्भर्जेन्स, रेडियो कम्युनिकेसनलगायत पक्षमा छलफल

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Representatives from 38 countries in Kathmandu to discuss wireless technology

काठमाडौँ — एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा नवीनतम प्रविधिको विकासमा केन्द्रित अन्तरसरकारकी निकाय ‘एसिया प्यासिफिक टेलिकम्युनिटी’ (एपीटी) को बैठकका लागि ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एपीटीको ३४औं वायरलेस ग्रुप (एडब्लूजी–३४) बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको आतिथ्यमा आयोजित बैठकमा डिजिटल कन्भर्जेन्स, रेडियो कम्युनिकेसन, प्रविधि हस्तान्तरणलगायत पक्षमा छलफल केन्द्रित रहेको एपीटीको कार्यसूचीमा उल्लेख छ । बैठकमा भर्चुअल र प्रत्यक्ष गरी ४ सय जनाको सहभागिता रहने र काठमाडौंमा मात्रै २ सयभन्दा बढी सहभागी रहेको उद्घाटन सत्रमा एपीटीका महासचिव मासनोरी कोन्डोले जनाए । 

आगामी अप्रिल ४ सम्म चल्ने बैठकमा डिजिटल युगसँग सम्बन्धित वायरलेस प्रणालीका विभिन्न पक्षमा छलफल गरिने महासचिव कोन्डोले बताए । बैठकमा विद्यमान कार्यसूचीहरूको अध्ययन, प्रगतिको समीक्षा र नयाँ कार्यसूची प्रस्ताव गरिनेछन् । ‘बैठकमा क्षेत्रीय सञ्चार तथा सूचना प्रणालीबीचको समन्वय र यसको बहुआयामिक प्रभावबारे छलफल हुनेछ,’ उनले भने, ‘हालसम्म एपीटीले १२ वटा सुझाव र १८४ वटा प्रतिवेदन तयार गरिसकेको छ । यसमा विशेषगरी स्पेक्ट्रम हार्मोनाइजेसनजस्ता विषयलाई केन्द्रमा राखिएको छ ।’ 

वायरलेस प्रविधिबाट लाभ उठाउन एडब्लूजीले एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्र, नियामक निकाय तथा सेवा प्रदायकहरूलाई मार्गनिर्देशन गर्दै आएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धारणा राखे । नेपालजस्ता भौगोलिक रूपमा जटिलता भएका देशका लागि वायरलेस प्रविधि महत्त्वपूर्ण सञ्चार सुविधा भएको उनको भनाइ छ । 

‘हामी अहिले एआईसम्बन्धी नीति, डिजिटल नेपाल फ्रेमवर्क २.० जस्ता नीतिगत पहल र देशका प्रमुख सहरमा फाइभजी सेवा सञ्चालन गर्ने तयारीमा छौं,’ मन्त्री गुरुङले भने, ‘आउँदो आर्थिक वर्षको अन्त्यसम्म सबै पालिकालाई ब्रोडब्यान्ड इन्टरनेटसँग जोड्ने लक्ष्य राखिएको छ । आईटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ ।’ डिजिटल अर्थतन्त्रको विकासका लागि प्रविधिगत विकास अनिवार्य रहेको मन्त्रालयकी सचिव राधिका अर्यालले उल्लेख गरिन् । नेपालमा फाइभजी कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ । 

एपीटी वायरलेस ग्रुपको बैठकमा स्पेक्ट्रम व्यवस्थापन, फाइभ जी–सिक्स जीजस्ता नयाँ प्रविधि तथा डिजिटल डिभाइडका समस्या सम्बोधन गर्ने उपायमा छलफल हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताए । नेपालमा मोबाइल फोनको पहुँच शतप्रतिशत पुगेको, मोबाइल ब्रोडब्यान्ड ८९, फिक्स्ड ब्रडब्यान्ड ४६ र फोरजी सेवाको पहुँच ८६ प्रतिशत रहेको उनले जनाए । 

कान्तिपुर

Link copied successfully