काठमाडौँ — नेपाल पोल्ट्री महासंघले कुखुराको फ्रोजन मासुमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाएर आयातमा ५ प्रतिशत अन्त शुल्क मात्र लगाउन माग गरेको छ ।
मंगलबार महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर आयात गरेको खुकुराको मासुमा पाँच प्रतिशत अन्त शुल्क लाग्ने गरेकोमा नेपालमा उत्पादित कुखुराको मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने गरेकोले संशोधन गर्न माग गरेको हो ।
उनीहरुले मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा नेपाल उत्पादित कृषिजन्य प्राथमिक उत्पादनमा मूल्य अभिवृद्धि कर लगाँउदा उपभोक्ता मूल्य बढ्न गएको र चोरीपैठारी बढेको भन्दै मूल्य अभिवृद्धि कर हटाउन माग गरिएको छ ।
२०७९ सम्म आर्थिक ऐनमा सिंगो र टुक्रा पारिएका फ्रोजन कुखुराको मासुमा आयातमा मूल्य अभिवृद्धि करमा छुट रहेको र पाँच प्रतिशतमात्र अन्त शुल्क थियो ।आर्थिक ऐन २०८० मा आएर यी दुवैमा लाग्ने गरेको अन्त शुल्क हटाएर मूल्य अभिवृद्धि कर लगाएको थियो ।
ताजा मासु बेच्दा कर नलाग्ने तर त्यही मासु फ्रिजमा राखेर बेच्दा १३ प्रतिशत कर लाग्ने व्यवस्था अव्यवहारिक भएकाले १३ प्रतिशत मृल्य अभिवृद्धि करको प्रावधान हटाउनु पर्ने महासंघका महासचिव दिनेश मिश्रले बताए ।
भेटमा अर्थमन्त्री पौडेलले महासंघको मागमा सरकार सकारात्मक रहेको र आगामी बजेटबाट समस्या समाधान गर्ने बताएको मिश्रले बताए ।
आर्थिक ऐन २०८० मा भएको करको परिवर्तनले पोल्ट्री उद्योगलाई नराम्रो असर गरेको आत्मनिर्भर रहेको उद्योगलाई परनिर्भरतामा जाने जोखिम बढेको मिश्रले दाबी गरे ।
पोल्ट्री क्षेत्रमा करिब एक खर्ब ६० अर्बको लगानी रहेको, प्रत्यक्ष तीन लाख र अप्रत्यक्ष गरी करिब पाँच लाख जनाले रोजगारी पाएको उनले बताए ।
