हिमालय एयरलाइन्सले सुरु गर्यो ल्हासा–पोखरा ‘सेड्युल’ उडान, निरन्तरतामा चुनौती
पोखरा — विमानस्थल सञ्चालनमा आएको २६ महिनापछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि ल्हासा–पोखरा–ल्हासा ‘सेड्युल’ उडान सेवा सुरु गरेको हो । यस्तो उडान सातामा एकपल्ट हुनेछ ।
यसअघि चीन, भारत र भुटानमा अन्तर्राष्ट्रिय ‘चार्टर’ उडान भएको थियो । पछिल्लोपल्ट चीनको सिचुवान एयरलाइन्सले छेङ्दु–पोखरा व्यावसायिक चार्टर उडान गरिरहेको छ । हिमालयको जहाज ल्हासाको गोंगर विमानस्थलबाट सोमबार चीनको स्थानीय समयअनुसार दिउँसो २ः३९ बजे उडान भरेर एक घण्टा ३४ मिनेटको उडान समय पछि १ सय ७ यात्रुसहित नेपाली समयअनुसार १ः५६ मा पोखरा अवतरण गर्यो । पोखरा आएका यात्रुमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक हुन् ।
पहिलो उडानमा आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र हिमालय एयरलाइन्सका पदाधिकारीले स्वागत गरे । उक्त जहाज सोमबार पोखरामै बास बसेर मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ः२० मा प्रस्थान गरी चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासामा अवतरण गर्नेछ । यही तालिकाअनुसार हरेक साता उडान हुनेछ । एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्ने तथा मागका आधारमा आगामी दिनमा उडान पनि थप्ने योजनासहित हाल सातामा एउटा उडान सञ्चालन गरेको हो ।
ल्हासा–पोखरा–ल्हासा उडान सेवाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा ‘कनेक्टिभिटी’ को भूमिकामा जोड दिए । पोखरालाई गन्तव्यका रूपमा रोजेकामा हिमालय एयरलाइन्सको प्रशंसा गर्दै उनले नियमित उडानले निरन्तरता पाउनेमा चुनौती रहेको स्विकारे । ‘चुनौती बाँकी रहे पनि सरकारी सहयोगले त्यस्तो चुनौतीको सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘गण्डकी सरकार पोखरामा हिमालय एयरलाइन्सको सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’ ल्हासा पुग्ने अन्य देशका पर्यटकलाई पनि पोखरा ल्याउन एयरलाइन्सले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
आगामी दिनमा एयरलाइन्सले पोखरामा हुने उडान तालिकालाई विस्तार गर्ने पर्यटन राज्यमन्त्री चौधरीले विश्वास व्यक्त गरे । यसअघि अन्तर्राष्ट्रिय चार्टर उडान मात्रै भएकामा यसपल्ट नियमित व्यावसायिक उडान सुरु भएको भन्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले खुसी व्यक्त गरे । ‘आफ्नो सहरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरावासीको सपना दुई वर्षअघि पूरा भएको थियो,’ उनले भने, ‘अब नियमित अन्तर्राष्ट्रिय उडान होस् भन्ने पोखरावासीको सपनाले मूर्त रूप पाएको छ ।’
पोखराको विमानस्थल अत्याधुनिक भएको र ल्हासा–पोखरा उडानले चीन–नेपाल सम्बन्धलाई पनि सुदृढ बनाउने उनको भनाइ छ । मानसरोवर पुग्ने तीर्थयात्रीका लागि पोखराबाट ल्हासा हुँदै जाँदा सहज हुने पोखरा महानगर प्रमुख आचार्यले बताए । पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएको र पर्यटकीय राजधानी पनि भएका हिसाबले ल्हासा–पोखरा–ल्हासा उडानले यहाँको पर्यटनमा कोसेढुंगा सावित हुने उनको भनाइ छ ।
ल्हासा–पोखरा उडान नेपालको उड्डयन उद्योगका लागि ठूलो सफलता भएको एयरलाइन्सका अध्यक्ष झोउ एनयोङले जनाए । ‘यसले पोखरालाई प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवर्द्धन गर्दछ,’ उनले भने, ‘यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसर सिर्जना गर्ने महत्त्वपूर्ण पहल पनि हो ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा पनि हिमालयकै जहाज आएको स्मरण गर्दै अहिले पहिलो नियमित अन्तर्राष्ट्रिय उडान पनि हिमालयकै जहाजबाट हुनु सुखद रहेको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । ‘प्राधिकरणको समेत पहलमा नियमित उडान सुरु भएको छ । अब यसको दिगोपनामा पनि मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘यो ठाउँबाट फर्किनुपर्यो भने हाम्रो, पोखरावासी र हिमालय एयरलाइन्सकै लागि पनि दुर्भाग्यपूर्ण हुन्छ ।’ हिमालयले नयाँ क्षेत्र, गन्तव्य र बजारका रूपमा पोखरा प्राप्त गरेको उनको भनाइ छ ।
हिमालय एयरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले उडानको निरन्तरताका लागि प्राधिकरण र एयरलाइन्स मिलेर प्रवर्द्धन गर्ने र त्यसमा प्रदेश र स्थानीय सरकारको साथको आवश्यकता औंल्याए । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अगाडि सारेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि घाटा बेहोरेरै उडान सञ्चालन गरेको स्मरण गर्दै पोखराबाट दिगोपनाका लागि यात्रु पनि हुनुपर्नेमा उनले जोड दिए । ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने हो,’ उनले भने ।
