वायरलेस प्रविधिका विविध पक्षबारे छलफल गर्न काठमाडौंमा ३८ देशका प्रतिनिधि

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Representatives from 38 countries in Kathmandu to discuss various aspects of wireless technology

काठमाडौँ — एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा नवीनतम प्रविधिको विकासमा केन्द्रित अन्तरसरकारकी निकाय ‘एसिया प्यासिफिक टेलिकम्युनिटी’ (एपीटी) को बैठकका लागि ३८ सदस्यीय राष्ट्रका प्रतिनिधि काठमाडौं भेला भएका छन् । एपीटीको ३४ औं वायरलेस ग्रुप (एडब्डुजी-३४) बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । 

नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको आतिथ्यमा आयोजना भएको बैठकमा एपीटीका महासचिव मासनारो कोन्डोले भर्चुअल र अनलाइन गरी कुल ४ सय सहभागी भएको बताए । काठमाडौंमा मात्रै २ सयभन्दा बढी प्रत्यक्ष रूपमा उपस्थित भएको उनले जानकारी दिए । आगामी अप्रिल ४ सम्म चल्ने बैठकमा डिजिटल युगसँगसम्बन्धित वायरलेस प्रणालीका विभिन्न पक्षमा छलफल गरिने उनको भनाइ छ । बैठकमा विद्यमान कार्यक्रमको अध्ययन, प्रगतिको समीक्षा र नयाँ कार्यसूची प्रस्ताव एवं छलफल गरिनेछ। 

‘बैठकमा क्षेत्रीय सञ्चार तथा सूचना प्रणालीबीचको समन्वय र यसको बहुआयामिक प्रभावबारे छलफल हुनेछ,’ महासचिव कोन्डोले भने, ‘हालसम्म एपीटीले १२ वटा सुझाव र १८४ वटा प्रतिवेदन तयार गरिसकेको छ । यसमा विशेष गरी स्पेक्ट्रम हार्मोनाइजेसनजस्ता विषयलाई केन्द्रमा राखिएको छन् ।’ 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वायरलेस प्रविधिबाट लाभ उठाउन एडब्लुजीले एसिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्र, नियामक निकाय तथा सेवा प्रदायकलाई मार्गनिर्देशन गरेको बताए । नेपालजस्ता भौगोलिक रूपमा जटिलता भएका देशका लागि वायरलेस प्रविधि महत्वपूर्ण सञ्चार सुविधा भएको उनको भनाइ थियो । 

‘हामी अहिले एआईसम्बन्धी नीति, डिजिटल नेपाल फ्रेमवर्क २.० जस्ता नीतिगत पहल र देशका प्रमुख सहरमा फाइभ जी सेवा सञ्चालन गर्ने तयारीमा छौं,’ मन्त्री गुरुङले भने, ‘आउँदो आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहलाई ब्रोडब्यान्ड इन्टरनेटसँग जोड्ने लक्ष्य राखिएको छ । आईटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने हाम्रो उदेश्य छ ।’

कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्यालले डिजिटल अर्थतन्त्रको विकासका लागि प्रविधिगत विकास अनिवार्य रहेको उल्लेख गरिन् । उनले नेपालमा फाइभ जी कार्यान्वयनमा ढिलाइ भइरहेको बताइन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले एपीटी वारयलेस ग्रुपको बैठकमा स्पेक्ट्रम व्यवस्थापन, फाइभ जी/सीक्स जीजस्ता नयाँ प्रविधि तथा डिजिटल डिभाइडका समस्या सम्बोधन गर्ने उपायबारे छलफल हुने बताए । उनले नेपालमा मोबाइल फोनको पहुँच सतप्रतिशत पुगेको, मोबाइल ब्रोडब्यान्ड ८९ प्रतिशत, फिक्स्ड ब्रोडब्यान्ड ४६ प्रतिशत र फोर जी सेवाको पहुँच ८६ प्रतिशत रहेको जानकारी दिए । थ्रीजी प्रविधि विस्थापित गर्ने प्रक्रिया चाँडै सुरु हुन लागेको पनि उनले बताए ।

एसिया प्यासिफिक क्षेत्रका देशको प्रतिनिधित्व गर्ने क्षेत्रीय संगठन एपीटीले दक्षिण एसियामै पहिलोपटक नेपालमा कार्यक्रम गरेको हो । यसमा ३८ वटा देश सदस्य छन् भने ४ पर्यवेक्षक र १३५ निजी कम्पनी र विज्ञहरू छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully