सात जना अपांगता भएकासहित ९३ जनालाई रोजगारी दिइने
नेपालगन्ज — बाँकेको नेपालगन्जमा रोजगार मेला आयोजना गरिएको छ । मेलाबाट सात जना अपांगता भएकासहित ९३ जनालाई रोजगारदाताले रोजगारी दिने भएका छन् ।
मेलामा रोजगारदाताका ३५ वटा स्टल राखिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा नेपालगन्जमा आयोजना गरेको दुई दिने ‘बाँके रोजगार मेलामा’ बेरोजगारलाई रोजगारको सम्भावना देखाउने, सीप अनुसार रोजगार दिलाउन सहजीकरण गरिएको थियो ।
संघले रोजगार मेलामा फर्म भरेका व्यक्तिहरुको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा रोजगारी दिने भएको छ । जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना छ ।
मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको सहभागिता थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए ।
संघका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटका अनुसार जिल्लाका गाउँ–गाउँबाट आएका करिब ९०६ जनाले रोजगारीका लागि निवेदन दिएका थिए ।
