राजावादीको निशानामा 'सन्चो' बनाउने औषधि कम्पनी

'सन्चो' हाडजोर्नी दुखेको, ज्वरो, रुघाखोकी, घाँटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारका लागि विश्वासिलो र भरपर्दो औषधिका रूपमा रहेको छ ।

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

A pharmaceutical company that makes 'Sancho' targets royalists

काठमाडौँ — स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रबार राजवादीको निशानामा पर्‍यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड राजावादीको निशानामा पर्दा ठूलो क्षति भएको छ ।

कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटी वैज्ञानिक पद्धतिबाट संकलन गराई सो जडीबुटीहरु प्रशोधन गरी स्वदेशी उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । त्यति मात्रै नभई उसले विदेशी बजारमा निकासी गरी रोजगारी सिर्जना गर्दै आएको छ ।

नेपाल सरकारको राजश्वमा टेवा पुर्‍याउँदै आएको उद्योगमा राजावादीले आगजनी गर्दा  ठूलो क्षति पुगेको कम्पनीकी कार्यकारी निर्देशक संगीता यादवले बताइन् ।  ‘दुई वटा भवन जलेका छन्, गाडीहरुमा आगो लगाइएको छ, अहिले उत्पादन गर्नसक्ने अवस्था छैन,’ उनले भनिन् । उनका अनुसार आगजनीका कारण कारखाना प्लान्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुईवटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाएका छन् ।  

आगजनीका कारण औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चापदार्थ, उत्पादन पश्चात प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । 

A pharmaceutical company that makes 'Sancho' targets royalists४२ वर्षदेखि कोरा जडीबुटी तथा उब्जनी गरिएका बीज बिरुवा उक्त कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद विक्री गर्ने तथा औषधिको आवश्यकता पूरा गर्न देशका विद्यमान वनस्पतिका श्रोत परिचालनसमेत गर्ने गरेको छ । कम्पनीले मुख्यतयः सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्टहरू उत्पादन गर्दै आइरहेको छ ।

लामो समयदेखि नेपाली बजारमा सन्चोको बिक्री ५ मि.लि को सिसीमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकता समेतलाई सम्बोधन गरेको यादवको भनाइ छ । आ.व. २०८०/८१ बाट सिसीको मात्रा बढाई १० मि.लि. को सिसी बजारमा भित्र्याइसकेको थियो । कम्पनीको केन्द्रीय कार्यालयले हाल उत्पादित सन्चोको फिलिङ र प्याकेजिङको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको थियो ।

हाडजोर्नी दुखेको, ज्वरो, रुघाखोकी, घाँटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारका लागि विश्वासिलो र भरपर्दो औषधिका रूपमा रहेको सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ र प्याकेजिङ भइरहेकोमा आधुनिक प्रविधिको विकाससँगै अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको बेला तिनै भवन राजावादीको निशानामा परेको छ । यसले सफलताको यात्रामा तत्काललाई ब्रेक लागेको छ । 

कान्तिपुर

Link copied successfully