बिक्री वा कर तिरेका आधारमा व्यवसायीलाई सुन दिन सुझाव

व्यवसायीले एक पटकमा एक किलोसम्म मात्रै सुन किन्न पाउँछन्, कर तिरेका आधारमा कार्यान्वयन भए बढी कारोबार गर्ने व्यवसायीले दुई किलोभन्दा बढी पाउन सक्छन्

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Advice to give gold to businessmen based on sales or tax paid

काठमाडौँ — सुनको कोटा र सिफारिस प्रणालीमा विकृति बढेपछि व्यवसायीलाई दैनिक बिक्री वा कर तिरेका आधारमा सुन दिन सुझाइएको छ । नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेबतीप्रसाद नेपालको संयोजकत्वमा गठित कमिटीले सरकारलाई यस्तो सुझाव दिएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, बैंकर्स संघ र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सम्मिलित समिति बनेको थियो ।

‘विकृति बढेपछि सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने थियो । त्यसैले अध्ययन गरी सुझाव दिन राष्ट्र बैंकको संयोजकत्वमा समिति गठन भएको थियो,’ समितिका एक सदस्यले भने, ‘अध्ययन र छलफल गरी समितिले सरकारलाई दिने सुझाव तयार पारेको छ । पहिलो प्राथमिकता दैनिक बिक्रीका आधारमा सुन दिने हो ।’ दैनिक बिक्रीका आधारमा व्यवसायीलाई सुन उपलब्ध गराए सबैभन्दा पारदर्शी हुने समितिको निष्कर्ष छ । सरकारलाई बुझाउने करका आधारमा पनि सुन दिन सकिने सुझाव छ । 

सुन खरिदका लागि सिफारिस दिने व्यवस्था हटाउन पनि भनिएको छ । हाल वाणिज्य बैंकले दिनको २० किलो मात्रै सुन आयात गर्न पाउँछन् । व्यवसायीले पनि दिनको २० किलो किन्न पाउँछन् । सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ अनुसार दैनिक कोटाको ५० प्रतिशत (अहिले २० किलो सुनमध्ये १० किलो) साविकको बागमती अञ्चलका लागि छुट्याइएको छ ।

बागमतीमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक कोटाको ५० प्रतिशत सिफारिस गर्न पाउँछ । बाँकी ५० प्रतिशत तीन संस्था (रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ, नेपाल कला व्यवसायी संघ) को सिफारिसमा मात्रै व्यवसायीले बैंकबाट गहना खरिद गर्न पाउने गहनाविज्ञ तेजरत्न शाक्यले बताए । साविकको १३ अञ्चलका लागि ५० प्रतिशत कोटा (दैनिक २० किलोका हिसाबले १० किलो) 

छुट्याइएको छ । त्यसमध्ये सुनचाँदी व्यवसायी महासंघलाई ६५, रत्न तथा आभूषण व्यवसायी महासंघलाई २५, नेपाल कला व्यवसायी संघलाई ७.५ र हस्तकला महासंघलाई २.५ प्रतिशत सिफारिसको अधिकार रहेको शाक्यले जनाए । ठाउँ–ठाउँका संघसंस्थाबाट रिफारिस गर्नुपर्दा गहना क्षेत्रमा विकृति बढ्दै गएको व्यवसायी बताउँछन् । 

विगतमा सिफारिस गरेबापत किलोमा एक हजार रुपैयाँ शुल्क लाग्थ्यो । अहिले बढेर ६ हजार रुपैयाँ पुगेको छ । तर पनि व्यवसायीले समयमै कोटा नपाउने शाक्यको भनाइ छ ।‘गहना व्यवसायीले बिक्री गरेको प्रमाण बैंकर्स संघमा पेस गरेपछि संघले कुनै एक बैंकमा सिफारिस गरिदिन्छ । बैंकर्स संघको सिफारिसका आधारमा गहना व्यवसायीले सुन पाउँछन्,’ ती सदस्यले भने, ‘करका हिसाबले वितरण गर्दा पनि प्रक्रिया उही नै हो । गहना व्यवसायीले वर्षका कति कर तिर्छन्, त्यसलाई भाग गरेर सुन दिन सकिन्छ ।’

राष्ट्र बैंककै अनुसार ३० महिनायता विदेशी मुद्रा विनिमय सञ्चिति लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । गत माघसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब करोड पुगेको छ । अहिले सञ्चिति बढे पनि घटेका बेला के गर्ने भन्ने राष्ट्र बैंकको तर्क छ । सोही कारण सुनको आयात कोटामा मौन रहेको ती सदस्यको भनाइ छ ।

सुन बजारको अवस्था सुधार गर्न समितिले सुझावसहितको प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइसकेको छ । मन्त्रालयले सरोकारवाला (गहना व्यवसायी) सँग छलफल गरेर थप निर्णय गर्ने जनाएको छ । ‘समितिले बुझाएको प्रतिवेदन उद्योगमन्त्री दामोदर भण्डारीकहाँ पुगेको छ । मन्त्रीले गहना व्यवसायीसँग छलफल गरेर कार्यविधि परिमार्जन गर्ने बताउनुभएको छ,’ शाक्यले भने, ‘समितिले दिएको सुझावका आधारमा परिमार्जन गर्नुपरे गरेर कार्यान्वयन हुन्छ ।’

कान्तिपुर

Link copied successfully