साताको तीन दिनमा १०६.६६ अंकले बढ्दा दुई दिनमा ११२.६७ अंकले घट्यो
काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१.४३ अंकले बढेको छ । बुधबारको तुलनामा १.५८ प्रतिशतले बढेर बिहीबार समग्र नेप्से परिसूचक २ हजार ६ सय ६३.३० बिन्दुमा उक्लेर बन्द भएको छ । बुधबार नेप्से ३९ अंकले बढेको थियो । पछिल्ला दुई कारोबार दिन (बुधबार र बिहीबार) मा नेप्से करिब ८० अंकले बढेको छ ।
तर, यो साताका पाँच सेयर कारोबार भएकामा तीन दिन नेप्से बढ्यो, दुई दिन घट्यो । तीन दिनमा १०६.६६ अंकले बढेको नेप्से दुई दिनमा ११२.६७ अंकले घट्यो । गत बिहीबार २ हजार ६ सय ६९.३१ अंकमा रहेको नेप्से यो बिहीबार २ हजार ६ सय ६३.३० बिन्दुमा छ । यसरी हेर्दा गत बिहीबारकै बराबर पुग्न करिब ६ अंक कम हो । उक्त दिन कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६ वटाको घट्यो ।
कुल ५५ हजार ४ सय ४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बुधबार ४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो । जसअनुसार व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ६.०९ प्रतिशतले बढ्यो । यस्तै, लघुवित्तले २.२२ र लगानीले २.२० प्रतिशतको वृद्धिसहित व्यापार उपसमूहलाई नै पछ्याए । विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले उकालो लागे । तर, निर्जीवन बिमा, सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढे ।
बिहीबार सबैभन्दा धेरै कमाउने मुख्य पाँच कम्पनीमा क्रमशः गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, अभियान लघुवित्त र मानुषी लघुवित्त कम्पनी रहे । यस्तै, धेरै गुमाउने प्रमुख पाँच कम्पनीको सूचीमा क्रमशः हिमालयन रि–इन्स्योरेन्स, नेपाल पुनर्बिमा, एनआरएन इन्फ्रास्टक्चर, सीईबीडी होल्डिङ्स र ग्रिन डेपलपमेन्ट बैंक छन् ।
