८५ हजार करोड लगानीमा बीवाईडीले भारतको हैदराबादमा कारखाना खोल्ने तयारी

बीवाईडीले २० गिगावाटको ब्याट्री निर्माण प्लान्टसमेत स्थापना गर्ने ।

चैत्र १५, २०८१

एजेन्सी

BYD is preparing to open a factory in Hyderabad, India with an investment of 85 thousand crores

काठमाडौँ — चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडीले भारतमा आफ्नो पहिलो कारखाना खोल्ने तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले तेलंगानाको हैदराबादमा ठूलो स्तरको उत्पादन केन्द्र स्थापना गर्ने योजना बनाएको हो । यस परियोजनाका लागि कम्पनीले झण्डै ८५ हजार करोड भारतीय रुपैयाँ (करिब १० अर्ब अमेरिकी डलर) लगानी गर्ने अनुमान गरिएको छ ।

एनडीटीभीको समाचार अनुसार बीवाईडीले उक्त प्लान्टका लागि करिब ५ सय एकड क्षेत्रफलको जमिनमा निर्माण कार्य गर्ने योजना बनाएको छ । वार्षिक ६ लाख युनिट गाडी उत्पादन गर्ने क्षमतासहित सो प्लाट स्थापना हुनेछ । बीवाईडीले तेलंगाना राज्य सरकारसँगको लामो छलफलपछि हैदराबादमा कारखाना खोल्ने तयारी गरेको बताइएको छ । बिजनेस स्ट्यान्डर्ड पोर्टलका अनुसार तेलंगाना सरकारले यस परियोजनाका लागि जग्गा उपलब्ध गराउनेलगायत अन्य सुविधाका लागि पूर्ण समर्थनको आश्वासन दिएको छ ।  

भारतमा बीवाईडी उपलब्ध भए पनि कम्पनीले हालसम्म त्यहाँ कुनै प्लान्ट सञ्चालन गरेको थिएन । चीनबाट इलेक्ट्रिक भेहिकल आयात गर्दा उच्च भन्सार शुल्कका कारण गाडीको मूल्य महँगो पर्ने गरेको छ । यसले कम्पनीको बजार प्रतिस्पर्धा पनि सीमित बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय रूपमै म्यानिफ्याक्चरिङ प्लान्ट स्थापना गर्नाले लागत घट्ने र भारतको ईभी बजारमा बीवाईडीको प्रतिस्पर्धा बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । 

‘पछिल्ला दुई वर्षदेखि कम्पनीले भारतमा कारखाना स्थापनाका लागि विकल्पहरू खोजेको भए पनि चिनियाँ लगानीमा गरिएको कडा नियमनका कारण योजना अघि बढ्न सकेको थिएन,’ बिजनेस स्ट्यान्डर्डमा पत्रकार प्रतिक शुक्लाले लेखेका छन्, ‘बीवाईडीले हैदराबादमा इलेक्ट्रिक बसहरू सञ्चालन गरिरहेको ओलेक्ट्रा ग्रिनटेकसँग प्राविधिक साझेदारी गरेको छ ।’ 

भारतमा उत्पादन केन्द्रबाहेक बीवाईडीले २० गिगावाटको ब्याट्री निर्माण प्लान्ट पनि स्थापना गर्ने योजना बनाएको छ । भारतीय बजार ईभीका लागि उर्बर बन्दै गएको र त्यहाँ विश्वका ठूला निर्माता कम्पनीहरूले आ-आफ्नो हिस्सा बनाउन खोजिरहेको देखिन्छ । ‘अमेरिकी ईभी निर्माता टेस्लाले पनि बिक्रीमा आएको गिरावट र सेयर मूल्य निरन्तर घटिरहेका बेला भारतलाई नै आशावादी नजरले हेररहेको छ,’ इकोनमिक टाइम्सले लेखेको छ, ‘कम्पनीले मुम्बईमा आफ्नो पहिलो शोरूम खोलेर आयातित गाडीहरू बिक्री गर्ने र महाराष्ट्रमा उत्पादन केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।’ 

टेस्लालाई बीवाईडीको भारत प्रवेश ठूलो चुनौती हुनसक्ने टाइम्सको विश्लेषण छ । हाल भारतमा महिन्द्रा, टाटाजस्ता स्थानीय ईभी निर्मातासँगै भारतकै जेएसडब्लु र चीनको एमजी मोटरबीचको ज्वाइन्ट भेन्चर (जेभी), कोरियाली र जापानी कार निमार्ताहरूबीचको प्रतिस्पर्धाले टेस्लालाई भारतीय बजारमा उल्लेखनीय लाभ प्राप्त गर्न कठिन बनाउने टाइम्सले जनाएको छ । 

एजेन्सी

Link copied successfully