डेढ घन्टा बन्दपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा 

आन्दोलनकारीले विमानस्थलभित्र फालेको आगोका कारण १ घन्टा २४ मिनेट विमानस्थल बन्द 

चैत्र १५, २०८१

सुरज कुँवर

After an hour and a half of closure, Tribhuvan International Airport is operational

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको बिचमा पर्ने झाडीमा आन्दोलनकारीले लगाएको आगोका कारण शुक्रबार काठमाडौं विमानस्थल १ घन्टा २४ मिनेट बन्द भएको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विमानस्थलको पश्चिमतर्फको झाडीमा लगाइएको आगोको धुँवाका कारण दिउँसो ४:१३ देखि ५:३७ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान कति डाइर्भट भए भन्नेबारे विस्तृत तथ्यांक विमानस्थलले तयार पारिसकेको छैन । 

आगो विमानस्थलभित्र रहेका ४ वटा दमकलले नियन्त्रणमा लिएको थियो । ‘आगो नियन्त्रण गर्न विमानस्थलमा रहेका ४ वटा दमकल र ७ वटा पानी ट्यांकर परिचालन गरिएका थिए’, विमानस्थलभित्र रहेको फायर स्टेसनका एक अधिकारीले भने, ‘आन्दोलनकारीले आगोको लप्का र प्रहरीले हानेको टियर ग्यास भएका टायर विमानस्थलभित्रको झाडीमा फालेपछि त्यसको धुवाले उडानमा असर पुर्‍यायो ।’ 

विमानस्थल परिसरमा आन्दोलनकारीले आगो लगाउनुअघि सडकबाट दक्षिण रहेको प्राधिकरणको मुख्यालय भवनमा ढुंगा प्रहार गर्दा कम्तीमा एक दर्जन सिसा फुटेका छन् । आन्दोलनकारीले विमानस्थलअघिको सडक साढे २ बजे नियन्त्रणमा लिएका थिए । उक्त सडकमा आगजनीपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट साढे ४ बजे तितरबितर बनाएको थियो । प्राधिकरणमा ढुंगा प्रहार हुन थालेपछि त्यहाँ कार्यरत कर्मचारीहरु सुरक्षित स्थानतर्फ भागदौड चलेको थियो । विमानस्थलका निर्देशक रिञ्जी शेर्पाका अनुसार प्राधिकरण र विमानस्थलको बिचमा पर्ने रिङरोडमा प्रदर्शनकारीले बालेको टायर विमानस्थलको तारजालीभित्र फालेपछि आगलागी भएको थियो । आगोले भौतिक संरचनामा क्षति भने पुर्‍याएन । प्रवक्तासमेत रहेका शेर्पाका अनुसार, विमानस्थल बन्द हुँदा विराटनगरबाट काठमाडौं आउँदै गरेका श्री एयरलायन्सको जहाज विराटनगर नै फर्किएको थियो । त्यस्तै बुद्ध एयरका दुइटा जहाज पोखरा, एउटा जनकपुर, यति एयरलायन्सका दुइटा जहाज भैरहवा, एउटा पोखरा र एउटा जनकपुर नै फर्किएका थिए । 

अन्तर्राष्ट्रियतर्फ फ्लाई दुबईको जहाज एक घन्टा सिमरामाथिको आकाशमा ‘होल्ड’मा राखिएको थियो । त्यस्तै बैंककबाट आएको थाई एयर एशियाको जहाज पनि डेढ घन्टा होल्डमा परेको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully