काठमाडौँ — लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले लुम्बिनी प्रदेशको स्थापना भएदेखि उत्पादनका क्षेत्रलाई प्राथमिकतामा राखी प्रोत्साहन गर्ने नीति रहेको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले लुम्बिनीको भैरहवामा बुधबार आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य : अर्थ–सामाजिक शक्ति, सम्भावना र सम्बोधन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले उक्त भनाई राखेका हुन् ।
‘माछा, खसी बोका उत्पादनको विषय होस्, कृषिसँग जोडिएका सबै विषय हुन् हामीले सबैभन्दा पहिले उत्पादन क्षेत्रलाई पहिचान गर्ने,’ पहिलो सत्र ‘सुस्त पूर्वाधार र अस्थिर नीति, उत्पादनका चुनौती’ विषयमा उनले भने, ‘र त्यसलाई उत्पादन गर्ने, उत्पादन गर्ने किसानलाई सरलीकरण गर्ने । त्यसका लागि नीति र आर्थिक क्षेत्रमा उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने गरी प्राथमिकताका साथ राखेर अगाडी बढाइरहेका छौँ ।’ उनले प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनका क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
‘हाम्रो सीमा क्षेत्रलाई पनि व्यवस्थित गर्ने कुरा छ,’ उनले थप भने, ‘हामीले उत्पादन गरेका चीजलाई निर्यात गर्ने सन्दर्भमा सीमासँग जोडिएर त्यसलाई के गर्न सकिन्छ ? यसमा छलफल गरिरहेका छौँ ।’ यी कुराहरू लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा पर्ने समेत उनले जानकारी दिए ।
