लुम्बिनीको प्रचारप्रसार गरौं, फ्लाइट नियमन गरौं र भैरहवा विमानस्थल चलाऔं : महानिर्देशक अधिकारी 

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Let's promote Lumbini, regulate flights and run Bhairahawa Airport: Director General

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले लुम्बिनीको प्रचारप्रसार गरेर फ्लाइटलाई नियमन गरे भैरहवा विमानस्थल चल्ने बताएका छन्। कान्तिपुर मिडिया ग्रुपद्वारा बुधबार आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयको तेस्रो सत्र ‘लुम्बिनीको आह्वानः अन्तर्राष्ट्रिय उडान’मा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

'लुम्बिनीको प्रचार-प्रसार गरौं र फ्लाइटलाई नियमन गरौं, भैरहवा विमानस्थल चल्छ,' अधिकारीले भने। काठमाडौंको फ्लाइट रोक्दै भैरहवा आउन आवश्यक रहेको जनाउँदै उनले राष्ट्रिय ट्राफिक नियमन गरे मुलुकको काठमाडौं, पोखरा र भैरहवा विमानस्थल चल्न सक्ने बताए।

'ट्राफिक फरकास्ट गर्दा कति ट्राफिक आउँछ भनेर हेर्ने गरिन्छ। कुल गार्हस्थ उत्पादनको वृद्धि सँगै ट्राफिकको वृद्धि भरपर्छ,' अधिकारीले भने। 'ट्राफिकलाई हामीले नियमन गर्नुपर्छ। विदेशमा पनि ट्राफिक नियमन गरिएको छ। टर्कीले इस्तानबुल एअरपोर्ट निर्माण गरेर राजधानीको एअरपोर्टमा प्रतिबन्ध लगाएको छ।' उनले प्रतिवर्ष ११ करोडभन्दा बढीलाई सेवा दिइरहेको जानकारी दिए।

'ट्राफिक भनेको देशको सम्पत्ति हो। त्यसलाई नियमन गर्‍यो भने तीनवटै विमानस्थल चल्छन्,' उनले भने। '८० प्रतिशत श्रममा जाने मानिस तराई क्षेत्रका हुन्छन्। नारायणीपारिको हिसाब गर्ने हो भने ७० प्रतिशत छन्।'

यातायात, होटल, खाना सबै महँगो भए पनि उनीहरू काठमाडौंमै आउन बाध्य भएको अधिकारीले सुनाए। 'भिसा सेन्टर एक ठाउँमा छ भने ट्रेनिङ सेन्टर अर्को ठाउँमा छ। हाम्रा मानिसहरूले धेरै कठिनाइ सहनु परेको छ,' उनले भने, 'नियमन गरी वर्किङ भिसा लिएका श्रमिकलाई भैरहवाबाट उड्नुपर्ने व्यवस्था गरेसम्म मात्रै सम्भव हुन्छ।'

बिजनेस कसरी सिर्जना गर्ने भन्ने विषयमा ध्यान दिनुपर्नेमा अधिकारीले जोड दिए। 'संसारभर ५३ करोड बौद्धधर्मालम्बी छन् । तीमध्ये ५० प्रतिशत चीनमा छन्,' उनले भने, 'तर लुम्बिनीमा प्रति वर्ष १ लाख ४७ हजार मानिस आउँछन्। त्यो पनि भारतबाट।'

कम्बोडियामा बुद्धको भाँचिएको नाक हेर्न ४० लाख मानिस पुग्ने भए पनि बुद्ध जन्मेको ठाउँ हेर्न जम्मा १ लाख ४७ हजार मानिस मात्रै आउने गरेको अधिकारीले सुनाए। 'लुम्बिनीलाई प्रवर्द्धन गरेर १० लाख बुद्ध धर्मालम्बीलाई ल्याउन सकिन्छ,' उनले भने।

भैरहवामा फ्लाइट किन नराखेको भन्दै जर्जियाका प्रतिनिधिलाई सोध्दा भिसा सेन्टर नभएको जवाफ पाएको अधिकारीले बताए। सरकारी कर्मचारीको पहुँच कठिन भएको अवस्थामा निजी क्षेत्र किन अघि बढ्ने भन्ने प्रश्न गर्दै नियमन र प्रतिबन्ध नै समाधान रहेको उनले उल्लेख गरे।

कान्तिपुर

Link copied successfully