काठमाडौँ — वसन्तकालीन हिमाल आरोहणका लागि २३ देशका ५८ जना विदेशी नेपाल आइपुगेका छन् । यस पटक सबैभन्दा धेरै चीनबाट २० जना हिमाल आरोहणका लागि नेपाल आइपुगेको पर्यटन विभागले जनाएको छ ।
बंगलादेश, ब्राजिल, क्यानडा, चिली, साइप्रस, इस्टोनिया, फिनल्यान्ड, जर्जिया, जर्मनी, हंगेरी, इरान, इटाली, किर्गिस्तान, लिथुवानिया, पाकिस्तान, पेरु, पोल्यान्ड, रसिया, सिंगापुर, स्पेन, युक्रेन र बेलायतका गरी १८ महिला र ४० पुरुष नेपाल आइपुगेका हुन् ।
वसन्तकालीन हिमाल आरोहणको अनुमति फागुन १७ देखि सुरु भएको विभागका अधिकृत ज्ञानु राईले जनाए । शुक्रबारसम्म ८ हजार मिटर उचाइको अन्नपूर्णबाहेक ६ हजार मिटर उचाइका कायाङ, पोखरखाङ, थोराङ पिक र सार्फु चौथो हिमाल ८ वटा आरोहण दललाई अनुमति दिइएको छ ।
