विराटनगर — विराटनगर भन्सार नाकाबाट सूर्यमुखी र भटमासको तेलको आयात बढेको छ । यी दुई तेलको निकासी पनि अस्वाभाविक नै देखिन्छ । चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब ४१ करोड ९७ लाख मूल्यको सूर्यमुखी कच्चा तेल आयात भयो ।
यही अवधिमा २८ करोड ५२ लाख मूल्यको प्रशोधित सूर्यमुखी तेल भारत निकासी भएको छ । भटमासको तेल ५ अर्ब १८ करोडको आयात हुँदा त्यही वस्तु ५ अर्ब ४८ करोडको निकासी भएको छ ।
विराटनगर नाकाबाट निकासी र पैठारी हुने १० वस्तुको सूचीमा सूर्यमुखी पैठारीमा र भटमासको तेल निकासीमा पहिलो नम्बरमा छ । उद्योगीहरूले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर तेल निकासी गर्दै आएका छन् । अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत देशवाट पैठारी गरिएको कच्चा तेल प्रशोधनपछि भारत निर्यात गरिने उद्योगीहरूले बताएका छन् ।
नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश सुविधा पाउँछ । अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा थप २० प्रतिशत विन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ । नेपालमा भने भारतमा निर्यात गर्दा उद्योगीले अग्रिम भुक्तानी पाउँछन् । त्यही कारण उद्योगीहरूले निर्यातमै जोड दिएको बताइएको छ ।
भटमास र सूर्यमुखी तेल प्रशोधन गर्ने कारखाना विराटनगरमा दुई दर्जनभन्दा बढी छन् । ती कारखानाहरुले पैठारी भएको तेल प्रशोधन गरेर पुनः विराटनगर नाकाबाटै भारत निर्यात गर्दै आएका छन् । भन्सार प्रमुख उमेश श्रेष्ठले भटमास र सूर्यमुखी तेलको पैठारी र निकासी ह्वात्तै बढेको बताए । उनका अनुसार सँगै सिन्थेटिक यार्न, जुटका कपडा, बोरा झोला, प्लाइउड, फलामे पाता, स्लिट स्ट्रिपलगायतका वस्तु निकासी भइरहेका छन् ।
फोलिथिन दाना एलपी ग्यास, स्टिल वायर रड, शुद्ध फलाम, तामाको तार, कोइलालगायतका वस्तु पैठारी भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ३१ अर्बको वस्तु पैठारी र ४० अर्ब ७८ लाखको वस्तु निकासी भएको छ ।
फागुनमा मात्रै १९ अर्ब ५६ करोडको वस्तु पैठारी हुँदा ९ अर्ब ४० करोडको वस्तु निकासी भएको छ । भन्सार स्रोतका अनुसार फागुन महिनामा ३ अर्ब ५० करोड ७६ लाख असुली लक्ष्य रहेकोमा २ अर्ब ७७ करोड २७ लाख रुपैयाँ राजश्व असुली भएको छ ।
साउनदेखि फागुनसम्मको आठ महिने अवधिमा २६ अर्व ८२ करोड ५५ लाख असुली लक्ष्य रहेकोमा २१ अर्ब ८८ करोड ४४ लाख मात्रै संकलन भएको छ । ‘लक्ष्य अनुसार राजश्व संकलन गर्न धेरै गाह्रो भइरहेको छ,’ भन्सार प्रमुख श्रेष्ठले भने ।
