मुलुकमै उद्योग व्यवसाय गरेर कमाउन सकिने वातावरण निर्माण गर्न नाडाको आग्रह 

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

NADA's request to create an environment where you can earn by doing business in the country

काठमाडौँ — नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुको नेपालमा निर्बाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर चौधरी नेतृत्वको टोलीले सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासोसमेत गरे ।

अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा तयारी सामग्री नै नेपालमा ल्याएर बिक्री वितरण भइरहेकोले यसलाई रोक्नु पर्ने धारणा राखे ।

नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्टयानदर्डको व्यवस्था नभएको जिकिर गर्दै बुट मोडेलमा बाह्य लगानी नेपालमा ल्याउन सम्भव रहेको अध्यक्ष चौधरीको भनाइ छ । उनले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आर्यआर्जन गर्न सकिने बातावरण निर्माणका लागि समेत आग्रह गर्दै नाडाको ६ बुँदे लिखित सुझावसमेत पेस गरे ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्तासम्बन्धी ऐन अहिलेसम्म पारित नहुँदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भइरहेकोले सो ऐन छिट्टै पारित गर्नका लागि आग्रह गरे । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका व्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिनु हुँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउँबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरण गरी सञ्चालन गर्न सकिने र त्यस ठाउँलाई सेजको रुपमा प्रयोग गर्न सकिने बताए । 

उद्योगमन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे बिनाजानकारी संसद्मा‌ प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुल्ला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए । खुल्ला बजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै उद्योगमन्त्री भण्डारीले नाडाका सुझावहरु राजस्व परामर्श समितिमा समेत पठाउन आग्रह गरे । एजेन्सी दर्तासम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित गर्ने उनले सुनाए । 

कान्तिपुर संवाददाता

Link copied successfully