भैरहवा — लामो समयदेखि मुलुकको आर्थिक अवस्था प्रतिकूल रहेको उल्लेख गर्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा जोड दिएका छन् । मुलुकभरका घरजग्गा व्यवसायीको थोरै–थोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने व्यवसायीको भनाइ छ ।
रूपन्देहीमा घरजग्गा व्यवसायी संघको अधिवेशनका सहभागीले कोरोना महामारीपछि थलिएको व्यवसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाए ।
जिल्ला संघको अधिवेशनअघि घरजग्गा व्यावसायी महासंघ केन्द्रीय समिति बैठकले व्यवसायीबाट एक–एक लाख रुपैयाँ संकलन गरेर कम्पनी खडा गरेको छ । आफ्नो लगानी क्षमता नचिन्दा व्यवसायी बैंकका कारण संकटमा परेको घरजग्गा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेको भनाइ छ । ‘अब आर्थिक संकलन गरेर भए पनि आफ्नो र सामाजिक हितमा काम गर्ने बेला भयो,’ उनले भने, ‘त्यसको सुरुवात रूपन्देहीबाट गर्न लागेका छौं ।’ .
मुलुकमा भूकम्प र कोरोना महामारीपछि घर जग्गाको कारोबार ठप्प हुँदा व्यवसायीलाई बैंकको ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ताले मानसिक समस्यामा पुर्याएको घरजग्गा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले उल्लेख गरे । ‘अब यस्तो तनावबाट मुक्तिका लागि इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्न लागेका हौं,’ उनले भने, ‘अब घरजग्गामा कम्पनीबाट लगानी गर्नेछौं, सकभर बैंकमा जानु नपरोस् भन्ने उद्देश्य हो ।’
