६ कारोबार दिनपछि २६.१० अंकले बढ्यो नेप्से

सोमबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्यो, ३३ कम्पनीको घट्यो

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

After 6 trading days, NEPSE increased by 26.10 points

काठमाडौँ — गएका ६ कारोबार दिन लगातार घटेको नेप्सेमा सोमबार दोहोरो अंकले सुधार भएको छ । उक्त दिन २६.१० अंकले बढेर समग्र नेप्से २ हजार ६ सय ४० बिन्दुमा उक्लिएको छ । अघिल्लो दिनको तुलनामा यो शून्य दशमलव ९९ प्रतिशतले बढी हो । आइतबार ५४.६२ अंकले घटेर २ हजार ६ सय १४.६८ बिन्दुमा बन्द भएको नेप्से सोमबार दोहोरो अंकले बढेको हो । यो वृद्धिलाई लगानीकर्ताले ‘करेन्सन’ का रूपमा विश्लेषण गरेका छन् ।

एक साता लगातार बजार घट्दा धेरै कम्पनीका सेयर मूल्य न्यून बिन्दुमा झरेका थिए । यस अवसरमा लगानीकर्ताले सेयर खरिद बढाएपछि बजार उकालो लागेको हो । ‘अघिल्ला ६ दिन लगातार बजार घट्नुमा पनि विशेष केही कारण थिएन, यसकारण सोमबार नेप्से बढ्नुको पनि कारण छैन,’ एक ब्रोकरले भने, ‘सोमबारको वृद्धिलाई लगातार घटेको बजार करेक्सन भएको मात्र हो ।’ यद्यपि यो वृद्धि आउँदा दिनमा टिक्छ वा टिक्दैन भन्नेबारे अनुमान गर्न कठिन हुने जानकार बताउँछन् । कम्तीमा पनि आउँदो साता लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले बजार बढिहाल्ने सम्भावना नरहेको ती अधिकारीले बताए । 

केही दिनयता बजारमा राजावादी, माओवादीलगायत दलको प्रदर्शनीका समाचार आएको, गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिन लागेकोलगायत कारण अझै केही दिन लगानीकर्ताले थप लगानी विस्तार गर्ने सम्भावना नरहेको जानकारको भनाइ छ । फागुन २८ मा १७.२८ अंकले बढेर २ हजार ७ सय ३६ बिन्दुमा उक्लिएको थियो । त्यसयता एक सातामै ६७.१७ अंकले नेप्से घटेको थियो । आइतबार पनि नेप्से घट्ने क्रम जारी नै रह्यो । 

नेप्से बिन्दु सोमबार बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएकामा सोमबार ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ । कुल ५८ हजार २३५ पटकको सेयर किनबेचबाट ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच भए । आज १३ वटै उपसमूहको बढेको छ । सबैभन्दा बढी जीवन बिमा १९१.२३ अंकले बढ्यो । फाइनान्सको ८७.४२, होटल तथा पर्यटनको ६६.१२, निर्जीवन बिमाको ७९.८५, उत्पादन तथा प्रशोधनको ५५.८२ र जलविद्युत्को सेयर मूल्य ६६.१२ अंकले बढेको छ ।

सबैभन्दा बढी कमाउने मुख्य पाँच कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, समृद्धि फाइनान्स कम्पनी र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन कम्पनी रहे । अपर हेवाखोला हाइड्रोपावर, सांग्रिला विकास बैंक डिबेन्चर (२०८७), नारायणी विकास बैंक, ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ र बाराही हाइड्रोपावरका लगानीकर्ताले गुमाए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बिमा कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंक क्रमशः मुख्य पाँच कम्पनी अघि रहे ।

कान्तिपुर

Link copied successfully