निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको काम ९ दिनदेखि ठप्प

चैत्र ११, २०८१

विमल खतिवडा

The work of Nagadhunga tunnel, which is in the final stage of construction, has been stopped for 9 days

काठमाडौँ — स्थानीयले आफ्ना पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै ९ दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प पारेका छन्। अहिले काठमाडौं र धादिङ दुवैतर्फको काम रोकिएको छ। निर्माण अन्तिम चरणमा पुगेका बेला काम अवरुद्ध हुँदा परियोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको छ।

हाल सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माण लगायतका काम अन्तिम चरणमा छन्। यस्तै, बलम्बुस्थित किसीपीडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि रोकिएको छ। चन्द्रागिरी नगरपालिका–२ टुटीपाखाका स्थानीयले पूरा भइसकेका आफ्ना मागहरू व्यवस्थित गर्नुपर्ने भन्दै निर्माणमा अवरोध गरेका हुन्। उनीहरूले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रमहरू या त परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्नेवाला सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन्।

स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन। निर्माण सुरु भएदेखि हालसम्म उनीहरूले छ पटक काममा अवरोध गरेका छन्। एक दिन काम बन्द हुँदा ५० लाख रुपैयाँभन्दा बढी घाटा हुने निर्माण कम्पनीले जनाएको छ। यस क्षेत्रका स्थानीयले पटक–पटक नयाँ माग राख्दै निर्माण कार्यमा अवरोध गर्दै आएका छन्। आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको धेरैजसो माग सम्बोधन गरिसकेको जनाएको छ।

केही माग सम्बोधनको प्रक्रियामा छन्। आयोजना सम्पन्न भएपछि पनि निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले काममा अवरोध गरेका छन्। काम रोकिएपछि पहिलोपटक आइतबार अवरोध गर्ने पक्ष र सडक विभागबीच वार्ता भए पनि कुनै निष्कर्ष निस्किएन। पुनः सोमबार वार्ता गरी समस्या समाधानको प्रयास गरिने नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए। स्थानीयले आफ्ना मागहरूका सम्बन्धमा लिखित प्रतिबद्धता जनाउनुपर्ने अडान राखेका छन्।

छिटो समाधान खोज्न सरकारको आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नागढुंगा सुरुङमार्गको काम रोक्न नहुने बताए। 'आयोजनाले स्थानीयका जायज मागलाई सम्बोधन गर्दै आएको छ। अहिले पनि समस्या वार्तामार्फत टुंग्याएर काम छिटो सुचारु गर्नुपर्छ,' उनले भने, 'छिटोभन्दा छिटो बाँकी रहेको निर्माणको काम अघि बढाइ आयोजनाको सम्पन्न गर्ने वातावरण सबै निकायबाट तयार गरिनुपर्छ।'

२०७६ कात्तिक ४ गते सुरु भएको सुरुङमार्गको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ। हाल सुरुङभित्र कंक्रिट ढलान (सडक निर्माण) को काम भइरहेको छ। आपतकालीन सुरुङको दूरी २,५५७ मिटर छ भने मुख्य सुरुङ २,६८८ मिटर लामो छ।

हाल नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन्। सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले गरिरहेको छ। परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ रहेको छ, जसमा जापानको १६.५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully