साढे ५४ अंकले घट्यो नेप्से, दुई महिनायताकै न्यून बिन्दुमा

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

NEPSE fell by 54 and a half points, to its lowest point in two months

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५४.६२ अंकले घटेर २ हजार ६ सय १४.६८ बिन्दुमा ओर्लेको छ । गत बिहीबारको तुलनामा यो २.०४ प्रतिशतले घटेसँगै नेप्से दुई महिनायताकै न्यून बिन्दुमा ओर्लेको छ । गत साता सबै कारोबार दिन लगातार घटेको नेप्से यो साताको पहिलो कारोबार दिन पनि साढे ५४ अंकले घटेको हो । 

आइतबारको नेप्से गत माघ ८ यताकै तुलनामा न्यून हो । गत माघ ८ मा नेप्से २६१३.०८ बिन्दुमा बन्द थियो । त्यसयता नेप्से फागुन १८ मा २८९०.२८ बिन्दुमा पुगेको थियो । त्यसपछि नेप्से क्रमशः घट्दै गएको छ । गत साताभर नेप्से परिसूचक ६७.१७ अंकले घटेको थियो । 

कुल १३ कम्पनीको सेयर मूल्य आइतबार बढ्यो भने २ सय ३० कम्पनीको मूल्य घट्यो । कुल ७२ हजार २ सय ६५ पटकको सेयर किनबेचबाट ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १ करोड २३ लाख ७१ हजार २ सय ८० कित्ता सेयर किनबेच भयो ।

कुल १३ उपसमूहमध्ये सबैभन्दा बढी निर्जीवन बिमा, जीवन बिमा, होटल तथा पर्यटन र विकास बैंक घट्यो । निर्जीवन बिमा २६८.४२, जीवन बिमा २६३.३१, होटल तथा पर्यटन १५०.५६, विकास बैंक १२९.८६, व्यापार ११८.०२ र उत्पादन तथा प्रशोधन १०३.८४ अंकले घटेको हो । 

मिथिला लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सयपत्री हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड विकास बैंक, नेपाल रि–इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक अघि रहे ।

हिमालयन रि–इन्स्योरेन्सको ४२ करोड ६ लाख ३४ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड विकास बैंकको ३५ करोड ९९ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर

Link copied successfully