वीरगन्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

चैत्र ११, २०८१

रासस

Import of petroleum products worth 1 trillion 22 billion through Birganj route

वीरगन्ज (पर्सा) — चालु आर्थिक वर्षको आठ महिनामा वीरगन्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको  आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब  २० अर्ब ५३ रुपैयाँ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

'अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,' उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको दुई लाख ९० हजार तीन सय ८२  किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोड रुपैयाँको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

रासस

Link copied successfully