बाढीले क्षतिग्रस्त सडकको धमाधम ठेक्का लगाइँदै

चैत्र ११, २०८१

विमल खतिवडा

The flood-damaged roads are being contracted rapidly

काठमाडौँ — गत असोजमा आएको बाढीले गर्दा क्षति भएका सडकको पुनर्निर्माणका लागि धमाधम ठेक्का आह्वान थालिएको छ । सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गको चारवटा प्याकेज मध्ये तीनवटामा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइएको छ ।  

सिन्धुलीमा एक र काभ्रेतर्फ तीनवटा प्याकेजमा विभाजन गरी ठेक्का गरिएको हो । सबै प्याकेजमा ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको छ । गत फागुन २८ मा सिन्धुलीतर्फ नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो । जहाँ पाँच किमि खण्डमा दुई लेन सडक बनाइनेछ । त्यस्तै काभ्रे खण्डको डालाबेंसीदेखि चार सयबेंसीसम्मको ८.५ किमि खण्डमा चैत ५ मा ठेक्का गरीसकिएको छ ।

चार सयबेसीबाट भकुन्डेबेसीको ११ किमि खण्डको चैत ७ गते ठेक्का आह्वान गरी सकिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ३.५ किमि खण्डको ठेक्का मंगलवारसम्म टुंगो लागिसक्ने उनले बताए । ‘यो खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने कि भन्ने छ,’ उनले भने, ‘मंगलवारसम्म निर्णय होला, नभए हामी आफ्नो हिसावले ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’  

काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिने उनको भनाइ छ । अहिले बीपी राजमार्गमा आउँदो बर्खालाई दृष्टिगत गरी अस्थायी मर्मतको काम भइरहेको छ ।

ललितपुरदेखि मकवानपुरको हेटौंडा बजार जोड्ने कान्ति राजमार्गको मकवानपुरतर्फ ठेक्का आह्वान गरीसकिएको छ । कान्ति राजमार्ग सडक योजना कार्यालयकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यका अनुसार ललितपुरतर्फ पनि तीनवटा पहिरो व्यवस्थापन गर्नेगरी ठेक्का गरिएको छ । ललितपुरको बाँकी खण्डमा भने केही दिन भित्रमै ठेक्का गरिने उनको भनाई छ । थानकोट–चित्लाङ सडकको पनि सोमबार ठेक्का भएको सडक विभागमा प्रबक्ता एवं उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।

‘अरनिको राजमार्ग र मेची राजमार्गको पनि ठेक्का गर्ने तयारीमा छौं,’ उनले भने, ‘लागत अनुमान पेश भएर छलफल भइरहेको छ, चैत भित्र बाढीले क्षति गरेका सबै सडक खण्डको ठेक्का व्यवस्थापन गरिसक्छौं ।’ उनका अनुसार बाढीले क्षति पुर्‍याएका पुलको ठेक्का व्यवस्थापन गर्न भने समय लाग्ने उनको भनाई छ । बाढीले क्षति गरेका सडक, पुल बनाउन अर्ग मन्त्रालयबाट २० लाख रुपैयाँको स्रोत सहमति दिइएसँगै पुन निर्माणका लागि ठेक्का आह्वान थालिएको हो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully