वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

स्वास्थ्य परीक्षणको दायरा विस्तार, सरकारी दरभन्दा बढी शुल्क लिन नपाइने 

चैत्र १०, २०८१

होम कार्की

The report on the health examination of those going to foreign employment will be implemented

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चितता गर्न स्वास्थ्यसम्बन्धी उच्चस्तरीय विशेषज्ञ कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको उपस्थितिबिना ‘मेडिकल फिट’ रिपोर्ट दिने गलत अभ्यास हटाउन उच्चस्तरीय विशेषज्ञ कार्यदलको प्रतिवेदनलाई शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह नेतृत्वको ३० सदस्यीय कार्यदलले गत मंसिर ११ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलका सदस्यहरूमा वीर, शिक्षण, पाटन, सहिद धर्मभक्त, शुक्रराज टोपिकल, किस्ट मेडिकल, तिलगंगा आँखा अस्पताललगायतका विशेषज्ञ चिकित्सक थिए ।

सूचीकृत स्वास्थ्य संस्था, चिकित्सक र श्रमिकलाई जिम्मेवार बनाउन, गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चितता गर्न र मेडिकल फिटसम्बन्धी रिपोर्ट दिने गलत अभ्यास अन्त्य गर्न प्रणालीलाई डिजिटाइजेसनमा लैजाने, स्वास्थ्य परीक्षणका सामग्री थप गर्ने, ल्याबहरूलाई सुधार गर्ने र स्वास्थ्य परीक्षणको दायरा विस्तार गर्ने निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ । 

‘वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठूलो बेथिति छ । श्रमिकको परीक्षण नगरी गलत स्वास्थ्य रिपोर्ट दिइने गरेको तथ्य स्थापित छन् । यसले श्रमिकहरू मृत्युको पासोमा परिरहेका छन्,’ श्रममन्त्री शरतसिंह भण्डारीले भने, ‘यस्तो अवस्था देख्दादेख्दै मूकदर्शक भएर बस्न सकिन्न । विशेषज्ञ चिकित्सकले यस विषयमा गहिरो ढंगले अध्ययन गरी प्रतिवेदन बुझाएका छन् ।’

श्रम मन्त्रालयका अनुसार श्रमिकको स्वास्थ्य परीक्षणको दायरासमेत विस्तार गरिएको छ । जसमा थाइरोइड, मिर्गौला र सुगरसँग विशेष परीक्षण (एचबीएवानसी) गर्नुपर्नेछ । यसअघि श्रमिकको सामान्य परीक्षण मात्रै गरिँदै आएको थियो । यसको शुल्क भने सरकारी दरअनुसार निर्धारण गरिएको छ । 

गुणस्तरीय स्वास्थ्य परीक्षणको अभावमा वैदेशिक रोजगारीमा जानेहरूका मिर्गौला धेरै जोखिममा रहेको जनाइएको छ । सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको तथ्यांकअनुसार मिर्गौला डायालसिस गराइरहेका मध्ये २८.९ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका छन् । 

बेलायतको बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपालले धनुषाको लक्ष्मीनिया र छिरेश्वरनाथ गाउँपालिकामा विदेशबाट फर्किएका ७ सय १८ जना र स्थानीय ७ सय २० जनाबीच मिर्गौला परीक्षण गरेका थिए । परीक्षणमा स्वदेशमै रहेकाको भन्दा बढी वैदेशिक रोजगारीमा गएकाहरूको मिर्गौलामा समस्या देखिएको थियो । विदेशबाट फर्किएकामा स्थानीयको तुलनामा उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत समस्या बढी देखिएको थियो । 

वैदेशिक रोजगार बोर्डको अभिलेखअनुसार पछिल्लो १४ वर्षसम्म १४ हजार ६ सय ६६ जना श्रमिकको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी हृदयाघातबाट १९, प्राकृतिक कारणबाट १९.५ र कार्यस्थल दुर्घटनाबाट ७, सडक दुर्घटनाबाट १२.७, आत्महत्याबाट ११ र बाँकी ३०.८ प्रतिशतको अन्य कारणले मृत्यु भएको छ । तर धेरैजसो प्रमाणपत्रमा ‘नेचुरल, सडेन डेथ, हार्ट अट्याक, अननेचुरल’ जस्ता शब्द लेखिएका हुन्छन् । 

सिंह नेतृत्वको उच्चस्तरीय विशेषज्ञ कार्यदलका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यालाई ८ समूहमा वर्गीकृत गरी समाधानको प्रस्ताव गरिएको छ । जसमा शारीरिक समस्या (मस्कुलोस्केलेटल, डिसअर्डर, चोटपटक, तातोसम्बन्धी), रासायनिक जोखिम र श्वासप्रश्वास समस्या (हानिकारक रसायन सम्पर्क, रक्त क्यान्सर, श्वासप्रश्वास रोग), मानसिक स्वास्थ्य (कार्य तनाव, चिन्ता, डिप्रेसन, सामाजिक अलगाव), स्त्रीरोग, प्रजनन र यौन स्वास्थ्य समस्या (यौन दुर्व्यवहार, गर्भावस्था हेरचाहको कमी, महिनावारी समस्या), संक्रामक (टीबी, कोभिड–१९, ग्यास्ट्रोइन्टेस्टाइनल, यौन संक्रमण), नसर्ने (हृदयरोग, उच्च रक्तचाप, मधुमेह, मोटोपन), न्युरोलोजिकल (पार्किन्सन, अल्जाइमर, माइग्रेन, मांसपेसी कमजोर हुने) र कार्डियोसँग सम्बन्धित उच्चरक्तचाप तथा मधुमेहसँग सम्बन्धित रोग छन् । 

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था वा चिकित्सकको लापरबाहीलाई पूर्णरूपमा रोक्न डिजिटाइजेसनमार्फत निगरानी गरिने व्यवस्था मिलाइने श्रममन्त्री भण्डारीले जनाए । वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन नियमन गर्न सर्वोच्च अदालतको फैसला छ ।

२०७७ माघ ७ मा तयार भएको न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको पूर्णपाठअनुसार मेडिकल अनफिट भई फर्केका किरण बस्नेतले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति बेहोर्नुपरेको भन्दै स्वास्थ्य परीक्षण गर्ने क्रममा लापरबाही गर्ने डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेसनल क्लिनिकलाई ३ लाख क्षतिपूर्ति भराउन आदेश दिइएको थियो । 

वैदेशिक रोजगारमा रहेका श्रमिक स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न चिकित्सकको अनिवार्य उपस्थितिमा स्वास्थ्य परीक्षणको वातावरण बनाउन सरकारले कडा अनुगमन गर्नुपर्ने सिंहले बताए । ‘कुन पेसा/व्यवसायका लागि रोजगारमा जाने हो ? त्यसअनुसार स्वास्थ्य परीक्षण र प्रतिवेदनको व्यवस्थापन गर्न मापदण्ड बनाउनुपर्छ,’ उनले भने । सरकारबाट सूचीकृत स्वास्थ्य संस्थालाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार स्तरीकृत गरी सबै देशका लागि एकरूप बनाउन जरुरी रहेको सिंहको भनाइ छ । 

गलत मेडिकल रिपोर्ट दिने प्रवृत्तिले श्रमिकहरूको स्वास्थ्य जोखिममा परेको श्रम आप्रवासन नीति मस्यौदा टोलीका संयोजकसमेत रहेका श्रमविज्ञ गणेश गुरुङ बताउँछन् । ‘मेडिकल स्वास्थ्य संस्थाको कडा अनुगमन नहुँदा चलखेल बढेको छ । श्रमिकलाई पनि यसबारे चेतना जगाउनुपर्छ,’ उनले भने, ‘गलत काम गर्नेहरूलाई कारबाही हुनुपर्छ ।’ 

वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न श्रम मन्त्रालयमा २ सय १५ स्वास्थ्य संस्था सूचीकृत छन् । यीमध्ये मलेसियाले ३६, साउदी अरब, कुवेत, बहराइन र ओमान (गाम्का) ले १९, दक्षिण कोरियाले ४, इजरायलले ठूला अस्पतालसहित ५ संस्थामार्फत स्वास्थ्य परीक्षण गराइरहेका छन् । अमेरिकाले आईओएममार्फत स्वास्थ्य परीक्षण गराउँछ । कतार जाने श्रमिकको परीक्षण भने कतार भिसा सेन्टरबाट भइरहेको छ । बाँकी १ सय ५७ स्वास्थ्य संस्थाले करिब सयभन्दा बढी देश जाने श्रमिकको परीक्षण गर्दै आएका छन् ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully