बारा-ढल्केबर प्रसारणलाइन निर्माण सकियो, १३२ केभीमा सञ्चालनमा

विद्युत् आपूर्ति थप सहज हुने, हेटौंडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार फेरिँदै 

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Construction of Bara-Dhalkebar transmission line completed, operational at 132 KV

काठमाडौँ — देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सकिएको छ ।

 धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सकिएको हो । 

धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भई गत असारबाट सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जगंलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा (चार्ज) ल्याइएको छ ।

हाल चालु रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारणलाइनलाई उक्त स्थानमा ट्यापिङ गरी बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारणलाइनलाई १३२ केभीमा चार्ज गरिएको हो । ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन हाल रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सकिएको ४०० केभीलाई १३२ केभीमा चार्ज गरिएको घिसिङले बताए । 

‘हिउँदयाममा हाल देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ, यसबाट कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमर्स्याङ्दी जस्ता अर्धजलाशययुक्त आयोजनाको पानी दिउँसो जम्मा गरी साँझ र राति चलाउन सकिन्छ । यसबाट ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहज हुनेछ,’ घिसिङले भने, ‘बर्खायाम सुरु भएपछि देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् पश्चिमबाट ढल्केबरतर्फ प्रवाह गरी भारतमा हुने विद्युत् निर्यातको परिमाण बढाउन सकिन्छ । साथै हाल चालु रहेको १३२ केभी प्रसारणलाइनको कन्डक्टर फेरेर क्षमता बढाउने काम अगाडि बढाउन सहज भएको छ ।’

प्राधिकरणले मकवानपुरको हेटौंडादेखि ढल्केबरसम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइनको स्तरोन्नति (तार फेर्ने) काम गरिरहेको छ । पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारणलाइनको क्षमता वृद्धि गर्न हेटौंडादेखि ढल्केबर सबस्टेसनसम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर उच्च क्षमताको नयाँ तार राख्न लागेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully