सबै दिन नेप्से घटेको बजारमा पनि व्यापार र अन्य उपसमूहका लगानीकर्ताले कमाए, यी उपसमूहका परिसूचक सातामा क्रमशः ६४.४४ र ७४.६१ अंकले बढे
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार १२.८४ अंकले घटेको छ । बुधबारको तुलनामा शून्य दशमलव ४७ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ६ सय ६९.३१ बिन्दुमा ओर्लेको हो । बिहीबार कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १७५ कम्पनीको मूल्य घट्यो, ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कुल ५५ हजार ४ सय ७६ पटकका कारोबारमा ९५ लाख ९९ हजार ३ सय ४३ कित्ता सेयर किनबेच भए । यसबाट ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
केही सातायताको राजनीतिक अस्थिरता (राजावादीहरूको चहलपहल बढेका) ले ठूला लगानीकर्ताको आत्मविश्वास घट्दा बजारमा नकारात्मक असर परेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘बैंक तथा वित्तीय संस्थामा ऋण असुलीको समस्या छ, लगातार बढेको खराब कर्जा तेस्रो त्रैमासमा झनै बढ्ने अनुमान छ,’ उनले भने, ‘राजनीतिक दलहरू प्रतिको वितृष्णा र राजावादीको चहलपहलले ठूला लगानीकर्ता बजारमा प्रवेश गर्न सकेका छैनन्, बरु बाहिरिन चाहेका छन् ।’
यो साता सबै दिन नेप्से घटेको छ । सोही कारण उक्त अवधिमा नेप्से परिसूचक कुल ६७.१७ अंक तल झरेको छ । गत बिहीबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से यो साता साताका सबै दिन (आइतबारदेखि बिहीबारसम्म) घट्यो । गत बिहीबार २ हजार ७ सय ३६.४८ बिन्दुमा बन्द भएको नेप्से यस साताको सोही दिन २ हजार ६ सय ६९.३१ बिन्दुमा ओर्लेको छ । यसअनुसार गत आइतबार २१.६३, सोमबार १०.१४, मंगलबार ७.६६, बुधबार १४.८८ र बिहीबार १२.८४ अंकले घट्यो ।
साताभर २६ अर्ब २९ करोड ६८ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी आइतबार ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा कम बुधबार ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो साता कुल ५ करोड १३ लाख ३१ हजार ३ सय ९८ कित्ता सेयर किनबेच भयो । सबैभन्दा बढी सेयर किनबेच आइतबार र सोमबार भयो । आइतबार २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता र सोमबार १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भयो । सबैभन्दा कम सेयर किनबेच बुधबार ८२ लाख २७ हजार ९ सय २ कित्ता सेयर किनबेच भयो ।
यो साता लगानीकर्ता व्यापार र अन्य उपसमूहमा आकर्षित भएको देखिएको छ । यो साता व्यापार उपसमूह ६४.४४ अंक र अन्य उपसमूह ७४.६१ अंकले बढेको छ । बैंकिङ उपसमूह ३०.४४ अंकले घटेको हो । गत बिहीबार १ हजार ३ सय ८९.९७ बिन्दुमा बन्द भएको बैंकिङ उपसमूह यो बिहीबार १ हजार ३ सय ५९.५३ बिन्दुमा झरेर बन्द भएको हो ।
होटल तथा पर्यटन ३६.८१ अंकले घटेको छ । गत बिहीबार ६ हजार ६ सय ११.५८ बन्द भएको होटल तथा पर्यटन उपसमूह बिहीबार ६ हजार ५ सय ३९.६३ बिन्दुमा बन्द भएको हो । यो साता सोमबार १२.०३ र बुधबार ७.०६ अंकले बढे पनि अन्य दिन घट्दा साताभरमै होटल तथा पर्यटन उपसमूह घटेको हो । जलविद्युत् उपसमूह ११०.९७ अंक, विकास बैंक २२७ अंक, उत्पादन तथा प्रशोधन ६१.०२ अंक, निर्जीवन बिमा ३४०.९९ अंक, फाइनान्स ११७.७८, लघुवित्त ११७.७१ अंक, जीवन बिमा ५१९.८२ अंक र इन्भेस्टमेन्ट उपसमूह २.९१ अंकले घटे ।
