मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डको काम अन्तिम चरणमा

चैत्र ८, २०८१

सम्झना रसाइली

Muglin-Pokhara road extension: Eastern section work in final stage

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्यलाई तीव्रता दिइएको छ ।

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी–जामुनेखण्डको काम लगभग अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडक विस्तार योजनाले जनाएको छ । योजनाका इन्जिनियर विष्णु पाण्डेका अनुसार मार्च १५ गतेसम्म ८१ प्रतिशतको हाराहारीमा भौतिक प्रगति छ भने ६१.९ प्रतिशत आर्थिक प्रगति पुगेको छ । उनले भने, ‘योजनाअन्तर्गत पूर्वी खण्डमा दुई वटा ठेक्का रहेका छन् । एउटा आँबुखैरेनी–जामुने सडक स्तरोन्नति र अर्को मादी नदीमा पुल निर्माण गर्ने कार्यको ।’

सडक स्तरोन्नतिअन्तर्गत साना र ठूला गरी १७ वटा पुल निर्माणको जिम्मा रहेकोमा डुम्रेस्थित पिप्ले खोलाको पुल निर्माणाधीन अवस्थामा रहेको र अन्यको निर्माण सम्पन्न भएको उनले बताए । ४१.४५ किलोमिटर दूरी रहेको पूर्वी खण्डमा ७३.६३ किलोमिटर एकतर्फी सडक पहिलो तहको कालोपत्र भएको छ । उनले भने, ‘यस खण्डमा करिब ३६ किलोमिटर ४ लेन र १.६३ किलोमिटर २ लेन सडक कालोपत्र गरिएको छ ।’

Muglin-Pokhara road extension: Eastern section work in final stageयस्तै, २७.५२ किलोमिटर ४ लेन, ४.६६ किलोमिटर २ लेन गरी ६० किलोमिटर सडक एकतर्फी दोस्रो तहको कालोपत्र भएको पूर्वी खण्डका इन्जिनियार पाण्डेले बताए । ‘दमौली बजार, छिर्कन खण्ड, डुम्रे बजार, विमलनगरको चुनपहरा खण्डमा काम बाँकी रहेको र यहिले यीनै खण्डलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, उनले भने, ‘दमौली बजार क्षेत्रमा कालोपत्रे गर्नलाई तीव्रता दिएका छौं । छिर्कन क्षेत्रमा हप्तादश दिनमा कालोपत्र सम्पन्न हुने र विमलनगरमा मर्स्याङ्दी नदी किनारबाट वाल उठाउने कामलाई तीव्रता दिइएको छ ।’

यस्तै, मुआब्जा वितरणको काम पनि क्रमबद्ध रुपमा भइरहेको योजनाले जनाएको छ । दमौली बजार क्षेत्रमा राइट अफ वेमा आएका ७५ वटा भौतिक संरचना भत्काउनुपर्नेमा २५ जनाको बाँकी रहेको पाण्डेले बताए । उनले भने, ‘२५ जनामध्ये १४ जनाले पहिलो किस्ता पनि लगेका छैनन् । दमौली बजार क्षेत्रका लागि ५ करोड २२ लाख रुपैयाँ मुआब्जा निधारण गरिएको छ ।’

Muglin-Pokhara road extension: Eastern section work in final stageपूर्वी खण्डमा ८०५ भौतिक संरचना भत्काउनु पर्नेमा डुम्रे र दमौली बजार क्षेत्रका केही भौतिक संरचनाहरु मात्रै बाँकी रहेको बताइएको छ । योजनाले करिब २९ करोड ८५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरेकोमा २५ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

Muglin-Pokhara road extension: Eastern section work in final stage२०८१ वैशाखसम्म काम सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो । तर, तोकिएको समय अवधिभित्र काम सम्पन्न नभएपछि तेश्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।

यस्तै, सन् २०२५ सेप्टेम्बरमा काम सक्ने गरी एक अर्ब २१ करोड रुपैयाँमा मादी पुलको ठेक्का ११ अगष्ट २०२२ मा सम्झौता भएको थियो । पुलको भौतिक प्रगति ६७.५८ प्रतिशत र आर्थिक प्रगति ५६.३४ प्रतिशत छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully