औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न निजी क्षेत्रको आग्रह

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Demand from private sector to regulate power supply to industrial sector

काठमाडौँ — औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेको भन्दै विद्युत् आपूर्ति नियमित गर्न निजी क्षेत्रका छाता संगठनहरूले सरकारलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बिहीबार विज्ञप्ति जारी गरेरै घोषित–अघोषित लोडसेडिङले औद्योगिक उत्पादन घटेको जनाएका छन् ।

औद्योगिक क्षेत्रमा पटक–पटक दोहोरिने घोषित–अघोषित रूपमा भइरहेको लोडसेडिङले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याइरहेको महासंघको दाबी छ । 

‘देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना विद्युत् कटौती गरिएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्, नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरू निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्‍याइरहेको छ । उत्पादनमा पनि भारी गिरावट आएको छ ।’

परिसंघले पनि उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढेको बताएको छ । ‘केही समय अगाडि पनि नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको थियो,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको थियो ।’ 

दिनको १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको परिसंघको दाबी छ । लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको परिसंघको भनाइ छ । सरकारले स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने र निजी क्षेत्रको मनोबल बढाउन कानुनमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत गरिरहेका बेला प्राधिकरणले गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको परिसंघले जनाएको छ । 

कान्तिपुर

Link copied successfully