सस्तोमा सेयर कर्जा पाइएको र घरजग्गालगायत क्षेत्र चलायमान बन्न नसकेका बेला लगानीकर्ताको आत्मविश्वास नबढ्दा घट्यो बजार
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब १४.८८ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा यो ०.५५ प्रतिशतले कम हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ८२.१५ बिन्दुमा ओलिएको छ । पछिल्ला चार कारोबार दिनमा नेप्से लगातार ओरोलो लागेको छ । गत साता बिहीबारबाहेक बाँकी सबै कारोबार दिन नेप्से घटेको थियो ।
गत बिहीबार नेप्से करिब साढे १७ अंकले बढेर बन्द भए पनि त्यो वृद्धि आइतबारसम्म टिकेन । यसअनुसार नेप्से आइतबार २१.६३, सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको छ । यी चार दिनमा नेप्से कुल ५४.३१ अंकले घटिसकेको छ ।
अहिले निरन्तर रूपमा सेयर बजार घट्नुपर्ने कुनै कारण नरहेको जानकार बताउँछन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकहरूको नाफा बढ्ने र उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुने खालको नीति ल्याएको छ ।
सो नीतिले बैंकको नाफा बढ्ने सम्भावना देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा करिब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । ब्याजदर घटेर एकल अंकमा झरिसकेको छ । लगानीका अन्य क्षेत्र घरजग्गा, उद्योग, साना तथा मझौला उद्यमीलगायत अपेक्षित रूपमा चलायमान बन्न सकेका छैनन् । यसकारण बैंक तथा वित्तीय संस्थाले पनि सेयर कर्जाका लागि लगानीकर्तालाई आग्रह गरिरहेका छन् ।
राष्ट्र बैंकको मासिक तथ्यांकले पनि गत वर्षको तुलनामा यस वर्ष सेयर कर्जा बढेको देखाएको छ । तर सेयर बजारमा त्यसको सकारात्मक असर देखिएको छैन । बरु नेप्से लगातार घटिरहेको छ । लगानीकर्ता सेयर बजारसम्बन्धी सकारात्मक समाचारको पर्खाइमा रहेकाले थप लगानी निर्णय हुन नसकेको ब्रोकरहरूको भनाइ छ ।
‘अब सेयर बजार बढाउन लगानीकर्ताको आत्मविश्वास नै बढ्ने खालका नीति सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरणलगायत निकायले ल्याउनुपर्छ,’ एक ब्रोकरले भने, ‘नत्र सेयर बजारको गति यस्तै हो, अपेक्षाकृत रूपमा बढ्न सक्दैन । बरु घट्ने सम्भावना नै धेरै छ ।’
कारोबारमा आएकामध्ये ५४ कम्पनीको सेयरमूल्य बुधबार बढ्यो, १८२ वटाको घट्यो भने बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो । ५४ हजार ६ सय २२ पटकको कारोबारमा ९३ लाख ८३ हजार ८ सय २ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि मंगलबारको तुलनामा बुधबार कारोबार संख्या, कारोबार सेयर संख्या (कित्ता) र कारोबार रकम सबै बढे ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन र व्यापारबाहेक ‘अन्य’ सबैका परिसूचक घटे । तीमध्ये पनि जीवन बिमा उपसमूहको परिसूचक २ सय र निर्जीवन बिमाको परिसूचक ६४.५६ अंकले घट्यो । वित्त कम्पनी उपसमूहको परिसूचक ४०.३३, उत्पादन तथा प्रशोधन २४.४६, जलविद्युत् र लघुवित्त उपसमूहको परिसूचक २४.१६ अंकले घटे ।
नेप्से घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) घटेर ४४ खर्ब ५३ अर्ब कायम भएको छ । मंगलबार कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।
