वित्तीय क्षेत्रमा लैंगिक समानताका लागि 'रिङ द बेल’

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

'Ring the Bell' for Gender Equality in the Financial Sector

काठमाडौँ — नेपालमा महिलाको आर्थिक समावेशीकरणको आवश्यकता औंल्याउँदै यसमा सबै पक्षको सहकार्य जरुरी रहेको नेपालका लागि संयुक्त राष्ट्रसंघीय निकाय यूएन विमेनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज-पाचेकोले बताएकी छन् । वित्तीय क्षेत्रमा लैंगिक समानताका लागि 'रिङ द बेल’ कार्यक्रममा उनले महिला साक्षरतामा नेपालले प्रगति हासिल गरे पनि वित्तीय समावेशीकरणमा अझै पहल आवश्यक रहेको धारणा राखिन् ।

युएन विमेन, ग्लोबल कम्प्याक्ट नेपाल, अन्तर्राष्ट्रिय वित्त निगम र नेपाल स्टक एक्सचेन्जले बिहीबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महिला व्यवसायीका चुनौती, शक्तीकरणका लागि आवश्यक रणनीति र सम्भावनाबारे आफ्ना विचार व्यक्त्त गरे ।  छलफल सत्रमा हर्भेदा बोटानिकल्सकी संस्थापक प्रतिभा पाण्डेले महिलाहरूले उद्यमशीलतामा प्रवेश गर्दा आइपर्ने वित्तीय चुनौतीबारे अनुभव सुनाइन् ।  

ग्लोबल इक्विटी फन्डका डेपुटी सीईओ आशिष ढकालले महिलाको नेतृत्वमा सञ्चालित संस्थाहरूले दिगो आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने विचार राखे । नेपाल राष्ट्र बैंककी निर्देशक आर्या जोशीले वित्तीय क्षेत्रमा लैँगिक समानताको कुरा गर्दा कर्जा सुविधा मात्रै नभएर विमा, विप्रेषणजस्ता विषयहरू पनि महत्वपूर्ण हुने धारणा राखिन् । स्विट्जरल्यान्ड दूतावासकी कार्यक्रम प्रबन्धक सेसिल रिभिएरले वित्तीय क्षेत्रमा विद्यमान लैँगिक असमनाता समग्र आर्थिक इकोसिस्टमकै समस्या सिर्जना गर्ने बताइन् ।      

कार्यक्रममा उपस्थित सहभागीहरूले लैङ्गिक समानता र आर्थिक समावेशीकरणको पक्षमा प्रतिबद्धता जनाउँदै सामूहिक रूपमा 'रिङ द बेल' कार्यक्रमअन्तर्गत प्रतीकात्मक घण्टी बजाए । यसले महिला सशक्तिकरणका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको सन्देश दिने आयोजकहरूको अपेक्षा छ । 'रिङ द बेल' अभियानले महिला सशक्तिकरणका सिद्धान्त (वेप्स) लाई प्रवर्द्धन गर्दै आर्थिक अवसरमा समान पहुँचका लागि निरन्तर खबरदारी गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully